सरकार नसच्चिए सडक आन्दोलन : देउवा

सरकार नसच्चिए सडक आन्दोलन : देउवा


विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा।

बागलुङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गलत लयमा भएकाले सच्चिएको देख्न चाहेको बताएका छन्।कांग्रेसले आइतबार बागलुङ सदरमुकाममा गरेको सभामा सभापति देउवाले उखान टुक्काले देशमा समृद्धि नआउने जिकिर गरे । सरकारले एक वर्षमा एउटा पनि सम्झन लायक काम नगरेको उनको भनाई छ।

सम्बोधनको अधिकाशं समय ओली नेतृत्वको सरकारको विरोधमा खर्चेका देउवाले हिंसा र दण्डहीनता मौलाउने गरी सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाए।निर्मला हत्या प्रकरण लगायतका घटनामा सरकार नै अपराधी लुकाउन लागि परेको आरोप लगाउदै उनले संवैधानिक समस्या बल्झाउने खेलमा सरकार लागेको बताए। उनले प्रतिपक्षी बिना संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन संसद्झै एकाधिकार र निरंकुशतातर्फ उन्मुख भएको दाबी गरे। कांग्रेसको अहिलेको संयमतालाई कमजोरी ठानिए सडक संघर्षमा जाने उनको चेतावनी छ।

देउवाले सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेर प्रजातन्त्र कमजोर बनाउने खेलमा लागेको आरोप लगाए। ‘यो सरकार गठन भएदेखि नै लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेको छ,’ देउवाले भने, ‘अहिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतलाई कुण्ठीत बनाउने र लोकतन्त्र मास्ने काममा सरकार उद्धत देखिन्छ।’ एक वर्षको सरकारको कार्यकाल प्रधानमन्त्रीले जे मनमा लायो त्यही बोलेर बिताएको उनको आरोप छ।

संविधान कार्यान्वयन र देशलाई अस्थिरताबाट रोक्नका लागि कांग्रेसले चुनाव हार्ने परिस्थिति हुँदा हुँदै निर्वाचन गरेको उल्लेख गरे।‘दुईटा दल मिलेपछि हामीले चुनाव जित्न कठिन थियो, तर संविधान कार्यान्वय नहुँदा देशमा थप जटिलता आउने देखेर मैले निर्वाचन गराएको हुँ,’ देउवाले भने।

उनले कांग्रेसलाई मजबुत बनाउनका लागि विधानलाई थप समावेशी बनाउँदै लगेको बताए। ‘हामीले महिलाका लागि ३३ प्रतिशत विधानमै सुरक्षित गरेका छौं,’ देउवाले भने, ‘विभिन्न जातजाति र सुमदायका लागि पनि सबैलाई समान अपनत्व हुने गरी विधान बनेको छ। हामी पार्टीलाई बलियो बनाउने अभियानमा लागेका छौं।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउ परेको बताए। ‘हामीले एक वर्ष अगाडी चुनाव नहार्नु पर्थ्यो, हारिहाल्यौं,’ शर्माले भने,‘अहिले लाग्छ हामीले चुनाव हारेर ठिकै भयो, केपी शर्मा ओलीको असली राष्ट्रवादी रुप जनताले देख्न पाएका छन्। ओलीको राष्ट्रवाद अहिले सिके राउतको पाउमा पुगेर लम्पसार परेको छ।’

महासमिति बैठकबाट बनेको विधान नेपालका सबै दलभन्दा अब्बल भएको उनले दाबी गरे। सबै जाति, क्षेत्र र भूगोललाई समावेश गरेर पदाधिकारीमा लैजान सकिने, कम्तीमा ३३ प्रतिशत महिला निर्वाचित हुने प्रावधान आएको बताए।

प्रतिक्रिया