३३ हजार राहत संकलन

३३ हजार राहत संकलन

बारा र पर्साका हावाहुरीबाट प्रभावित पीडितलाई राहत संकलन गर्दै नागरिक समाज दैलेखका अगुवाहरु ।
तस्विर-हिक्मत बहादुर नेपाली,दैलेख

दैलेख चैत २० ।
नागरिक समाज दैलेखले भिषण हावाहुरीबाट प्रभावित पीडितलाई राहत संकलन गरेको छ । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीमा पीडित परिवारको सहयोगार्थ राहत संकलन गरिएको हो । मंगलवार देखि सुरु भएको राहत संकलन बुधवार सम्ममा ३३ हजार बराबर राहत संकलन भएको पत्रकार अमर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले दैलेख सदरमुकाम दैलेख बजारमा रु ३३ हजार ९ सय ९५ राहत संकलन गरेको छ ।
नागरिक समाज दैलेखका अध्यक्ष अधिवक्ता खड्गबहादुर सिजापतिको अगुवाईमा गरिएको राहत संकलन कार्यमा पूर्व शिक्षक शेरबहादुर थापा, पत्रकार अमर सुनार, अधिकारकर्मी डिलकुमारी चन्द लगायत नागरिक समाजका अगुवाहरु सहभागि थिए । हावाहुरीबाट प्रभावित पीडितलाई केही मात्रामा भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राहत संकलन गरिएको नागरिक समाज दैलखका अध्यक्ष खड्ग बहादुर सिजापतीले बताउनुभयो । तराईमा भएको प्राकृतिक विपद्का पीडितहरुका लागि पहाडबाट सद्भाव सहयोग जनाउन राहत संकलन गरिएको संयोजक सिजापतिको तर्क छ ।
राहत संकलन टोलीले स्वच्छिक रुपमा सहयोग संकलन गरेको हो । मंगलवार र बुधवार गरी दुई दिनसम्म संचालन गरिएको राहत संकलन बुधवार देखिनै रोकिएको पत्रकार सुनारले बताउनुभयो । ‘सरकारले नै राहत संकलन रोक्न भनेपनि हामीले राहत संकलन रोकेका हौ,’ पत्रकार सुनारले भन्नुभयो ‘संकलन भएको सहयोग रकम दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा मार्फत प्रभावित जिल्लामा पठाइनेछ ।’

प्रतिक्रिया