दैलेख कारागार हाताभित्र सरस्वतीको मन्दिर

दैलेख कारागार हाताभित्र सरस्वतीको मन्दिर

दैलेख वैशाख ६ गते ।
जिल्ला कारागार दैलेख हातामा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजारले सामान्य मूर्ति ल्याएर पुज्ने कैदीबन्दीको अवधारणा जानकारी पाएपछि जेलर जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाको १ लाख अनुदानमा मन्दिर निर्माण गरिएकोे हो । मन्दिर निर्माणमा अरु शुभेच्छुकहरुको सहयोग र कैदीबन्दीहरुको श्रमदान समेत करिब ११ लाखको लागतमा सरस्वती मन्दिर र खेलमैदानको प्रवन्ध भएको कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्रीले जानकारी दिनुभयो । कारागार हातामा नवनिर्मित सरस्वती मन्दिरको आज उद्घाटन गरिएको छ । मन्दिर उद्घाटनको अबसरमा प्रतिनीधि सभा सदस्य पार्वती बिशुन्केले दैलेख कारागारका कैदीबन्दीलाई जेल जीवन रचनात्मक काममा उपयोग गर्न आग्रह गर्नुभएको छ ।
परिवन्द वा आवेगजन्य परिस्थितिमा जेल जीवन बिताइरहेका कैदीबन्दीले उत्पादनशील सीप इलम, पुस्तक अध्ययन र आध्यामिक चेतना अभिवृद्धिमा चासो दिएकोमा कैदीबन्दी र यसको निम्ति वातावरण बनाउनुहुने जेलर जीतबहादुर खत्रीको प्रयासको सांसद बिशुन्केले प्रशंसा गर्नुभयो । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले कैदीबन्दीहरुलाई असल चालचलनको आधारमा कैदी मिनाह हुने कानूनी व्यवस्था भएकोले आफूलाई समय अनुसार परिस्कृत गर्न सुझाव दिनुभयो ।
नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह, भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले दैलेख कारागारमा कैदीबन्दीहरुले योग व्यायाम, धार्मिक अनुष्ठान र सीप इलममा ध्यान दिएकोले आफूहरु सहयोग गर्न उत्सुक भएको बताउनुभयो । दैलेख कारागारका जेलर जीतबहादुर खत्री, आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्री, मानबहादुर नेपाली, पुस्तकालय लाइब्रेयन उपेन्द्र शाहीले कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुलाई आयमूलक सीप विकास तालिम, तनाव कम गराउन मनोबिमर्श सेवा र कानूनी सहायता कक्षको आवश्यकता औल्याउनुभएको थियो ।

प्रतिक्रिया