गुराँस संरक्षण गर्न पाठ्यक्रम निर्माणमा जोड

गुराँस संरक्षण गर्न पाठ्यक्रम निर्माणमा जोड

दैलेख वैशाख ३१ गते ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत र दैलेखको सिमानामा पर्ने गुराँसे क्षेत्रका वनपाखा राताम्य बन्छ । गुराँस फुल्ने समयमा थरीथरीका गुराँसले पर्यटकलाई आकर्षण गरिरहेको हुन्छ । नेपालमा पाइने ३२ प्रजातीका गुराँसमध्ये यस क्षेत्रमा पाँच प्रजातीका पाइन्छ । तर पछिल्लो समय आन्तरिक पर्यटकहरुले रुखका हांगा भाँचेर जथाभावी गुराँस टिप्ने गरेकाले यहाँको गुराँस लोप हुने अवस्थामा पुगेको छ । लोप हुने अवस्थामा पुगेको गुराँस संरक्षणको निम्ति विभिन्न पहल थालिएको छन् ।
सोहि अनुसार डिभिजन वन कार्यालय दैलेखले गुराँस गाउँपालिकामा गुराँस संरक्षण सम्बन्धि छलफल समेत चलाएको छ । गुराँस संरक्षण गर्न गरिएको छलफलमा दैलेख र सुर्खेतका सरोकारवालाहरुले स्थानीय पाठ्यक्रम निर्माणमा जोड दिएका छन् । गुरासँ संरक्षणका लागि विद्यालय स्तरदेखी नै सुरुवात गर्नुपर्ने सहभागिको जोड छ । गुराँस गाउँपालिका–४ का पदम मल्लले बालबालिकाबाटनै गुराँस संरक्षण गर्नुपर्छ भन्ने चेतना दिन स्थानीय पाठ्यक्रम निर्माण गरि विद्यालय स्तरमा लागु गर्नुपर्ने बताउनुभयो । ‘गुराँस संरक्षणका लागि पाठ्यक्रमनै सबैभन्दा उचित माध्ययम बन्नसक्छ,’ उहाँले भन्नुभयो ।
सोहि ठाउँका कृष्ण गिरीले वैशाख जेठमा यस क्षेत्रका वनपाखामा हुने स्याउलाहरु हटाएर आगलागीबाट जोगाउनुपर्ने बताउनुभयो । गाउँपालिका–८ का प्रेम बहादुर खड्काले सबैको अपनत्व हुनेगरि गुराँस संरक्षण समिति बनाएर योजनाबद्ध रुपमा काम अघि बढाउन सुझाव दिनुभयो । गुरासँ गाउँपालिकाको गाइबान्ना सामुदायिक वन उपभोक्ता समितिका संस्थापक अध्यक्ष विष्णु शर्माले गुराँस संरक्षणका लागि सामुदायिक वन समितिहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । गुराँस गाउँपालिकासँग सिमाना जोडिएका विरेन्द्रनगर नगरपालिका सुर्खेतको १३, १४ र १५ वडाका सामुदायिक वन समितिका पदाधिकारीहरुले गुराँस संरक्षणमा समिति बनाएर काम गर्न सुझाव दिए ।
प्रदेश सरकारको प्राथमिकतामा गुराँस संरक्षण
कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले गुराँसे क्षेत्रको गुराँस संरक्षणका लागि कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । ‘कर्णाली प्रदेश सरकारले संरक्षणको एक मात्र कार्यक्रम गुराँस गाउँपालिकामा रहेको गुराँस संरक्षण राखेको छ,’ छलफलमा सांसद रेग्मीले भन्नुभयो ‘प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा पर्यटकीय क्षेत्र बनाउने योजना प्रदेश सरकारको छ ।’ गुराँस संरक्षण गरि यहाँको विकासको आधार पर्यटन बनाइने उहाँले दाबी गर्नुभयो । चालु आर्थीक बर्षमा कर्णाली प्रदेश सरकारले यहाँको गुराँस संरक्षणका लागि ३० लाख रुपँैया बजेट छुट्याएको छ । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गुराँस संरक्षण संगै आन्तरिक ताथ बाह्य पर्यटक भित्याउन आकर्षक पार्कहरु निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले गुराँस संरक्षणका लागि प्रदेश र संघीय सरकारबाट आउने बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । ‘गुरासँ संरक्षण गरेसंगै पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया