पेट्रोलिमय पदार्थ अन्वेषण सुरु

पेट्रोलिमय पदार्थ अन्वेषण सुरु

दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ अन्वेषण कार्यको सुरुवात गर्नका लागि दैलेख आउनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव श्रीस्थान मन्दिर क्षेत्रमा पानी माथी ज्वाला बाल्नुहुँदै । तस्वीर ः हिक्मत बहादुर नेपाली ।

हिक्मत बहादुर नेपाली
दैलेख – दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ । पेट्रोलियम पदार्थ उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययन सोमवार देखि सुरु भएको हो । त्यसका लागि खानी तथा भूगर्भ विभागका प्राविधिक सहित चाइना जियोलोजिकल सर्भेको टोली दैलेख आएको छ । चाइना जियोलोजिकल सर्भेको टोली प्रमुख तान फोयान सहितको टोली र खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले आज मंगलवारदेखि काम सुरु गरेको छ ।
विभाग र चाइना जियोलोजिकल सर्भे, चाइना भौगर्भीक विभाग बेइजींङ र शाखा चेन्नुरको टोलीले संयुक्त रुपमा अन्वेषणको काम गर्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा बताउनुभयो । पहिलो चरणको सर्भे गर्न टोली दैलेख आएको हो । विभागका महानिर्देशक सापकोटाले भन्नुभयो ‘अहिले एक महिनाको अवधीमा अन्वेषणको काम मात्र हुन्छ,’ उहाँले भन्नुभयो ‘ बर्षात सुरु भएकाले प्राविधिक र विज्ञ टोली करिब १० दिन मात्र दैलेखमा बसेर काम गर्नेछ, बर्षात सकिए पछि पुःन दैलेख आउनेछ ।’
टोलीले पेट्रोलियम पदार्थ कहाँ कति मात्रामा छ भन्ने बारे प्रारम्भिक अध्ययन गर्ने महानिर्देशक सापकोटाले बताउनुभयो । अहिले गरिएको अन्वेषणबाट आएको प्रतिवेदनका आधारमा अक्टोबरबाट दोस्रो चरणको काम सुरु हुने उहाँले बताउनुभयो । विभागसंग प्राविधिक जनशक्ति नभएका कारण चाइना जियोलोजिकल सर्भेले तथ्यांक संकलनका लागि प्राविधिक सहयोग गर्ने महानिर्देशक सापकोटाले बताउनुभयो । चाइनाको विज्ञ र नेपालको विज्ञ टोली बसेर पेट्रोलियम पदार्थको अन्वेषण प्रतिवेदन तयार गरिने । चिनियाँ र नेपालको विज्ञ र प्राविधिक टोलीले पहिलो चरणमा दैलेखमा ड्रिलिङ साइट पहिचान गर्ने विभागले जनाएको छ । पेट्रोलियम खानीबाट व्यवसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ । उत्खनन लागत अनुसारको व्यवसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागले जनाएको छ ।

दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । दैलेखको श्रीस्थान जमिन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करिब तीन सय वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । दैलेखकै नाभिस्थान क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । पेट्रोलियम अन्वेषणका लागि ‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे विच सम्झौता भएको थियो ।
‘पञ्चकोशी क्षेत्र वैज्ञानीक केन्द्र’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले दैलेखको पञ्चकोशी क्षेत्र छिट्टै वैज्ञानीक केन्द्रको रुपमा विकास हुने बताउनुभएको छ । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि दैलेख आउनुभएका मन्त्री यादवले नाविस्थानमा आयोजित अन्तरक्रिया कार्यक्रममा पञ्चकोशी क्षेत्र धार्मीक पर्यटन मात्र नभई वैज्ञानीक केन्द्र बन्ने बताउनुभयो । ‘सुरुमै उत्खनन््को काम हुने होइन,’ मन्त्री यादवले भन्नुभयो ‘अहिले अन्वेषणको काम मात्र हुन्छ, पेट्रोलियम पदार्थ हुन पनि सक्छ, नहुन पनि सक्छ तर हामी आशावादी बन्नुपर्छ ।’
श्रीस्थान, नाविस्थान, धुलेश्वर, पादुका क्षेत्रको धार्मीक आस्था, ऐतिहासिक संस्कृति र सम्पदालाई जोगाउँदै पेट्रोलियम पदार्थको अन्वेषण कार्य अगाडी बढाइने बताउनुभयो । ‘दैलेख लगाएत मुलुकभरका केहि शिक्षित युवाहरुलाई पेट्रोलियम पदार्थको उत्खनन सम्बन्धि उच्च शिक्षा निशुल्क पढाउने सरकारको लक्ष छ,’ मन्त्री यादवले भन्नुभयो ‘दैलेखको पेट्रोलियम पदार्थको उत्खनन सुरु हुँदा सरकारले उत्पादन गरेको जनशक्तिले नै काम गर्नेछन् ।’
अर्को प्रशंगमा मन्त्री यादवले कर्णाली प्रदेश धनको खानी भएपनि सोचको गरिब भएको धारणा राख्नुभयो । उहाँले नेपाली युवा युवतीहरुले सस्तो मुल्यमा विदेशमा गई श्रम बेचेर मुलुक विकास र समृद्धिको दिशामा अगाडी बढ्न नसक्ने धारणा राख्नुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय बासिन्दाको मागलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको उत्खननको काम हुने बताउनुभयो । ‘व्यवसायिक श्रपमा लगानी गर्न सकिन्छ या सकिदैन त्यो अन्वेषण पछि पत्ता लाग्नेछ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘लगानी भन्दा बढि उत्पादन हुने भए उत्खननको काम हुनेछ ।’ अर्को प्रशंगमा मुख्यमन्त्री शाहीले छिमेकी मुलुकहरुसँग अनुदान मागेर मुलुक नचल्ने बताउनुभएको छ । ‘अब स्थानीय स्रोत साधानको भरपुर उपयोग गरौ, आम नेपालीले नेपालमै उत्पादन भएका बस्तुहरु प्रयोग गरौँ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो । परनिर्भरता रोक्नुपर्ने उहाँको भनाई छ ।
पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफु मन्त्री हुँदा पेट्रोलियम अन्वेषणको आधार तयार गरेको स्मरण गराउँदै वर्तमान सरकारले त्यसलाई मुर्त रुप दिन लागेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले वर्तमान कम्यनिष्ट सरकारले लिएको विकास र समृद्धिको लक्ष पुरा गर्न दैलेखको पेट्रोलियम पदार्थ कोशेढुंगा सावित हुने बताउनुभयो । अन्तरक्रियामा प्रतिनीधि सभा सांसद रविन्द्रराज शर्मा, राज बहादुर बुढा, पार्वती कुमारी विशुन्के, कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापा, शुसिल थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव याम कुमारी खतिवडा लगाएतले पेट्रोलियम अन्वेषण कार्यको चर्चा गरेका थिए । त्यस अघि मन्त्री यादव सहितको नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोलीले श्रीस्थान, नाविस्थान क्षेत्रमा सदियौ देखि निरन्तर बलिरहेको ज्वालाका अवलोकन गर्नुभएको थियो । मन्त्री यादव सहितको टोलीले श्रीस्थानमा पानीमाथी आगो बालेर परिक्षण समेत गरेको थियो ।

प्रतिक्रिया