सभाहल पुर्ननिर्माण

सभाहल पुर्ननिर्माण

दैलेख : सभाहल उद्घाटन गर्दै प्रतिनीधि सभा सांसद रविन्द्रराज शर्मा

दैलेख – दैलेखमा सुविधा सम्पन्न सभाहल निर्माण गरिएको छ । जिल्ला समन्वय समिति दैलेखको पुरानो हललाई मर्मत सम्भार गरि सुविधा सम्पन्न सभाहल निर्माण गरिएको हो । तत्कालिन जिविसद्धारा निर्मित उक्त हल पुरानो र जिर्ण बन्दै गईरहेको अवस्थामा दैलेख निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सभाहल पुर्ननिर्माण गरिएको हो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३१ लाख ६८ हजार र जनश्रमदान आठ लाख २० हजार गरि कुल ३९ लाख ८८ हजारको रुपैयाँको लागतमा सभाहल पुनर्निर्माण गरिएको जिल्ला समन्वय समिति दैलेखका निमित्त समन्वय अधिकारी पदमबहादुर सापकोटाले जानकारी दिए । जिल्लामा सुविधा सम्पन्न सभाहल नहुँदा औपचारिक कार्यक्रम संचालन गर्न कठिनाई भएको अवस्थामा सदरमुकाममा सभाहल निर्माण भएपछि सहज हुने निमित्त समन्वय अधिकारी सापकोटाले बताए । ‘सभाहलको क्षमता एक सय ७० जना अट्ने हो, उनले भने ‘त्यहाँ आवश्यक पर्ने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको छ ।’
जिससको मुल गेट देखि हलसम्म पुग्नका लागि अपांगमैत्री बाटो निर्माण समेत गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर थापाले जनाए । सभाहल क्षेत्र वरपर पर्खाल समेत लगाइएको छ । सभाहल निर्माणपछि प्रदेश तथा जिल्लास्तरीय तथा ठूला औपचारिक कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ । नवनिर्मित सभाहलको उद्घाटन गरिएको छ । प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्मा, जिसस दैलेखका प्रमुख प्रेम बहादुर थापा लगाएतले संयुक्त रुपमा सभाहलको उद्घाटन गरे ।
जिसस दैलेखद्धारा आयोजित सभाहल उद्घाटन कार्यक्रममा सांसद शर्माले मुलुक स्रोतको अभावले गरिब नभएको उल्लेख गरे । उनले दैलेखको भविष्यसँग जोडिएका मुख्य सडकहरुको छिट्टै स्तरोन्ती गरिने बताए । जिसस दैलेखका प्रमुख प्रेम बहादुर थापाले सार्वजनिक सम्पतीको संरक्षण गर्न सबैको दायित्व र जिम्मेवारी भएको बताए ।


प्रतिक्रिया