दैलेखमा पशु अस्पताल तथा पशु सेवा कार्यालय उद्घाटन

दैलेखमा पशु अस्पताल तथा पशु सेवा कार्यालय उद्घाटन

दैलेख असाेज १४ । दैलेखका पशुपालक कृषकलाई प्रदेश सरकारले दिने अनुदान लिनकै लागि राजधानी विरेन्द्रनगर जानुपर्ने बाध्यता हटेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका सेवा र सुविधा अब पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाटै पाइने भएको छ ।
दैलेखमै पशु अस्पताल स्थापना भएपछि राजधानी जानुपर्ने बाध्यता हटेको हो । जिल्लामा कार्यालय पुर्नस्थापना भएपछि आफुहरुलाई सहज हुने कृषकहरु बताउँछन् । दैलेखमा स्थापना भएको पशु अस्पतालको कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापाले उद्घाटन गरे । सांसद थापाले पशु सम्बन्धि सेवा जिल्लाबाटै प्रदान गरिने बताए ।
सङ्घीयता कार्यान्वयनसँगै जिल्लामा रहेको पशु सेवा कार्यालय गत साउनमा खारेजीमा परेको थियो । साविकको जिल्ला पशु सेवा कार्यालयको भवनमा पशु अस्पताल स्थापना गरिएको हो । अस्पतालबाट प्रदेश सरकारबाट उपलब्ध हुने अनुदानका कार्यक्रमहरु, पशु सेवा, रोगहरु फैलिएमा स्थानीय तहसँग समन्वय लगाएतका सेवा सुविधा प्रदान गरिने अस्पतालका अधिकृत भिमबहादुर विष्टले बताए ।

प्रतिक्रिया