कर्णालीलाई एक वर्षमा पूर्ण साक्षर बनाइने

कर्णालीलाई एक वर्षमा पूर्ण साक्षर बनाइने

सुर्खेत । कर्णाली प्रदेशलाई आगामी एक वर्षमा पूर्णसाक्षर बनाउने गरी प्रदेश सरकार र स्थानीय सरकार लाग्ने सहमति कर्णाली प्रदेश समन्वय परिषद्को बैठकमा भएको छ ।

बैठकले १९ बुँदे कर्णाली घोषणा पत्र जारी गरेको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए । ‘बैठकमा १ वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने प्रतिबद्घता गरिएको छ,’ अध्यक्ष केसीले भने, ‘प्रदेश र स्थानीय सरकारबीचको समन्वयका लागि मुख्यमन्त्री कार्यालयलाई सम्पर्क बिन्दु बनाउने निर्णय बैठकले गरेको छ ।’

त्यस्तै प्रदेश र स्थानीय तहबीच अन्योलता रहेको राजस्व बाँडफाँड, योजना तर्जुमा, प्रदेश र स्थानीय तहका योजनाको प्रभावकारी कार्यन्वयनका लागि जिल्ला समन्वय समितिसँग समन्वय गर्ने निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिए ।

वर्तमान सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, भ्रमण वर्ष २०२० लाई सफल पार्ने लगायत निर्णयहरू घोषणा पत्रमा उल्लेख छ । परम्परावादी कुरिती अन्त्यका लागि दुवै तहका सरकारले प्रतिबद्घता जनाएका छन् । योजनाहरूको व्यवस्थित अनुगमन र मूल्यांकन, शिक्षालाई जीवन उपयोगी शिक्षा बनाउने, नैतिक शिक्षा प्रदान गर्ने लगायत निर्णय बैठकले गरेको उनले जानकारी दिए ।

अघिल्लो वर्ष सिकाइको हिसाबले कार्यविधि निर्माण, समन्वय, सहकार्य र सह–अस्तित्तवको कमी भएको निष्कर्ष समेत बैठकले निकालेको छ ।

प्रतिक्रिया