कृषकलाई अर्गानिक उत्पादनमा जोड्दै ‘सहास’

कृषकलाई अर्गानिक उत्पादनमा जोड्दै ‘सहास’

दैलेख : जिल्लाको महाबु गाउँपालिकाका कृषकहरु अर्गानिक तरकारी उत्पादनमा जुटेका छन् । किसानहरुले विषादी रहित तरकारी खेती गर्न थालेका हुन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएपछि कृषकहरु अर्गानिक तरकारी खेतीमा उन्मुख भएका हुन् । कृषकहरुलाई सहयोगी हातहरुको समूह (सहास) नेपालद्धारा सञ्चालित नेपालको पहाडी समुदायमा दिगो खाद्य सुरक्षाका लागि जैविक विविधता तथा स्रोत व्यवस्थापन परियोजनाले अर्गानिक उत्पादनमा जोडेको हो ।
स्याउला तथा गाई, भैसी, गोरुको मलमुत्रबाट तयार गरिएको जैविक मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेको महाबु गाउँपालिका–२ वडाखोलाका कृषक हेमराज थापाले बताए । स्वर्णभूमि दलनवाली कृषि कृषक समुहका अध्यक्ष समेत रहेका थापाले बारीमा गोलभेडा, आलु, काउली, बन्दा लगाएतका तरकारी खेती गरिरहेका छन् । तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाईगोरु तथा पशुको मुत्रलाई विषादीको रूपमा प्रयोग गर्ने गर्दै आएको उनले बताए ।
थापा जस्तै उक्त समुहमा स्थानीय २२ जना कृषक आबद्व छन् । समुहमा आबद्व सबै कृषकहरुले तरकारी खेती गरिरहेको स्थानीय मानबहादुर खड्काले बताए । कृषकहरुलाई परियोजनाले तरकारीको बीउ, पोलीहाउस, पलास्टिक गुमोज, सरल थोपा सिचाई, गाईगोरु तथा पशुको मुत्र संकलन ड्रम तथा प्रविधि सहयोग गरेको छ । परियोजनाले सोहि समुहका ६ जना कृषकलाई पलास्टिक गुमोज प्रदान गरेको छ ।

वडाखोला जस्तै महाबु गाउँपालिका–१ खरिगैराको विपन्न तथा साना किसान समुहमा २५ किसान आबद्ध छन् । समुहमा आबद्व कृषकहरुले तरकारी खेती, बाख्रा पालन, गड्यौला मल उत्पादन गरिरहेको समुहमा सचिव भुवन खत्रीले बताए । समुहको सक्रियतामा गाउँ टोल सरसफाई अभियान सञ्चालन गर्नुका साथै फोहोर व्यवस्थापनका लागि हरेक घरमा डस्विन राखेका खत्रीले बताए । समुहमा आबद्व कृषकहरु सक्रिय भई गाउँपालिकासँग भकारो सुधार र वडा कार्यालयसँग सिचाई पाइप माग गरेका छन् । यहाँ सञ्चालित नेपालको पहाडी समुदायमा दिगो खाद्य सुरक्षाका लागि जैविक विविधता तथा स्रोत व्यवस्थापन परियोजनाले समुहका १० जना कृषकलाई पलास्टिक घर सहयोग गरेको छ । पलास्टिक घर पाएका कृषकहरुले गोलभेडा खेती गरिरहेका छन् ।
परियोजना महाबु गाउँपालिकाको वडा नम्बर १ खरिगैरा, वडा नम्बर २ वडाखोला, वडा नम्बर ३ बासीमा सञ्चालित छ । समुहमा आबद्व कृषकहरुलाई जैविक मल, विषादी बनाउने विधि र प्रयोगका तरिका सिकाईएको परियोजनाको पशु प्राविधिक सजना पन्तले बताइन् । परियोजना मार्फत महाबु गाउँपालिकामा १८ वटा समुह गठन भएको उनले बताइन् । ती समुहमा झण्डै साढे तीन कृषकहरु आबद्व छन् । कृषकहरुलाई तरकारी खेती, बाख्रा पालन, गड्यौला मल उत्पादनमा सहयोग गरिरहेको प्राविधिक पन्तले बताइन् ।

परियोजनाले बासीका १५ जना कृषकलाई गोठ सुधारका लागि सहयोग गरेको छ । समुहका कृषकलाई तरकारी खेती, बाख्रा पालन, समुह अवधारणा, समुहको लेखाजोखा, जलवायु परिवर्तन, सुनौला हजार दिनका आमालाई पोषण सम्बन्धि तालिम प्रदान गरेको परियोजना अधिकृत तेजकुमार राईले बताए । उनले परियोजना मार्फत कृषकहरुलाई अर्गानिक उत्पादनमा जोडेको बताए ।
परियोजनाको महाबु गाउँपालिकाका तीन वटै वडामा सञ्चालन गरेको क्रियाकलापबारे गाउँपालिकाका जनप्रतिनीधि, परियोजनाका कर्मचारी सहितको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, वडाअध्यक्षहरु रामकृष्ण गुरुङ्ग, हरिप्रसाद उपाध्याय, हिरासिंह बडुवाल, परियोजना अधिकृत तेजकुमार राई लगाएतको टोलीले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले गाउँपालिका भैगोलिक रुपमा विकट भएपनि कृषिको दृष्टिकोणले तराई देखि पहाडी क्षेत्रमा उत्पादन हुने सबै कृषि बालीहरु उत्पादन हुने बताए । उनले गाउँपालिकाका ५८ प्रतिशत नागरिक कृषिमा निर्भर रहेकोले कृषि क्षेत्रलाई व्यवस्थित गर्न पकेट क्षेत्रको अवधारणा अनुसार तरकारी, ओखर र अलैची पकेट क्षेत्र र आलु ब्लगको रुपमा गाउँपालिकालाई अगाडी बढाएको बताए ।

प्रतिक्रिया