लकडाउनले रोकिएन विकास निर्माण

लकडाउनले रोकिएन विकास निर्माण

हिक्मतबहादुर नेपाली
दैलेख जेठ ४ गते ।

भैरबी गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लकडाउनमा पनि सावधानी अपनाएर कामलाई निरन्तरता दिएपछि भवन निर्माणले गति लिएको हो। एक करोड रुपैयाँको लागतमा तयार हुने भूकम्प प्रतिरोधी भवन स्वास्थ्य सावधानी अपनाएर भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले बताए। यति मात्रै होइन, सो गाउँपालिकामा तीन वटा वडा, स्वास्थ्य केन्द्रको भवन, खानेपानी आयोजना, विद्यालय तथा झोलुङ्गे पुल निर्माणको काम जारी छ। भैरबी गाउँपालिका जस्तै दुल्लु नगरपालिकामा पनि १९ वटा योजनाको काम थालिएको छ।

गुराँस गाउँपालिकाले ठुला योजनाहरु पनि सम्झौता भइसकेको छ। जिल्ला प्रशासनले अनुमति दिने बित्तिकै काम सुरु हुने इन्जिनियर सरोजकुमार दाहालले जानकारी दिए। केही योजनाको ठेक्का प्रक्रिया पनि अगाडी बढाइएको उनले बताए। लकडाउनका कारण ठप्प रहेको विकास निर्माणलाई नारायण नगरपालिकाले पनि सुचारु गरेको छ। स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरी निर्माण कार्यलाई अगाडि बढाइएको सो नगरपालिकाले जनाएको छ। नगरका दुई वटा वडाको भवन, सडक, विद्यालयको भवन निर्माण कार्य थालिएको इन्जिनियर हिक्मत रोकायले बताए। उपभोक्ता समिति र निर्माण कम्पनीलाई काम सुरु गर्न आग्रह गरिएको उनले जानकारी दिए।

अन्य स्थानीय तहले पनि सम्झौता भइसकेका काम गराउन थालेका छन्। विषयगत कार्यालयले पनि निश्चित दुरी कायम गरेर विकास निर्माणका योजना सञ्चालन गरिरहेको छ। स्थानीय तहले सडक, भवन, खानेपानी, सिँचाईका गतिविधि धमाधम गरिरहेका हुन्। अनुगमनको काम पनि जारी छ। सबै स्थानीय तह र विषयगत कार्यालयहरुले सर्तकताको मापदण्ड पालना गरी काम गरिरहेका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। ‘हामीले निर्माण सामग्री ल्याउन सहजिकरण्ण गरिरहेका छौ,’ उनले भने ‘संघ, प्रदेश र स्थानीय तहमार्फत विकासका योजना कार्यान्वयनमा लगिएको हो, योजनाहरुमा जतिसक्दो कम जनशक्ति प्रयोग गरी काम गर्ने व्यवस्था मिलाएका छौ।’

८७ योजनालाई अनुमती

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सर्त पालना गरेर विकास निर्माण सञ्चालन गर्ने निणर्य गरेपछि स्वीकृत लिनेहरु बढेका छन्। दैलेखमा शुक्रबारसम्म ८७ वटा योजनाले स्वीकृत लिएका छन्। ११ स्थानीय तह, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना, खानेपानी उर्जा विकास तथा सिँचाई कार्यालय, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन सुर्खेत, सडक कार्यालय जुम्ला, डिभिजन वन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, नयाँ सहर आयोजना राकमकर्णाली लगायतले निर्माण कार्यका लागि अनुमती लिएका छन्।

स्थानीय तहबाट अनुरोध भई आएका योजनालाई सर्तहरु पूर्ण पालना गर्ने गरी निर्माण कार्य सञ्चालन गर्न अनुमती दिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए। उनका अनुसार नारायण नगरपालिकामा सात वटा योजनाको काम सञ्चालन भएको छ। यस्तै दुल्लु नगरपालिकामा १९, भैरबी गाउँपालिका १५, सडक डिभिजन सुर्खेत अन्र्तगत १२, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाका ६ वटा योजनाको काम भईरहेको क्षेत्रीले बताए।

प्रतिक्रिया