दैलेखमा कोरोना संक्रमितको संख्या ६३४, एक सय ८५ जना डिस्चार्ज

दैलेखमा कोरोना संक्रमितको संख्या ६३४, एक सय ८५ जना डिस्चार्ज

दैलेख अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएकाहरुलाई विदाई गर्दै डा.जगतबहादुर थापा ।

दैलेख असार २ गते । दैलेखका कोरोना संक्रमितको संख्या ६ सय ३४ पुगेको छ । मंगलवार दुल्लु नगरपालिकामा पाँच जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले गरेको पीसीआर परिक्षणमा यस्तो नतिजा देखिएको हो । दुल्लु नगरपालिका–३ का एक, ५ का एक, ७ का दुई र ११ का एक जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमित मध्ये नारायण नगरपालिकाका एक सय ९९ जना, नौमूले गाउँपालिकाका एक सय ४२ जना, महाबु गाउँपालिकाका एक सय ८ जना, दुल्लु नगरपालिकाका ७२ जना, डुङ्गेश्वर गाउँपालिकाका ६८ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । यस्तै आठबीस नगरपालिकाका २१ जना, भगवतीमाई गाउँपालिकाका ९ जना, भैरबी गाउँपालिकाका ९ जना, ठाटीकाँध गाउँपालिकाका ३ जना, गुराँस गाउँपालिकाका२ जना र चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ जना छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार मंगलवारसम्म विभिन्न स्कुलका आइसोलेसनबाट ७ महिलासहित एक सय ८५ जना घर फर्किएका छन् । नारायण नगरपालिकाका एक सय ४५, दुल्लु नगरपालिकाका ३४, डुङ्गेश्वर गाउँपालिकाका ३, गुराँस गाउँपालिकाका २ जना घर फर्किएका छन् । कर्णाली प्रदेशकै पहिलो संक्रमित युवा गत साता प्रदेश अस्पताल सुर्खेतको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । उनि आठबीस नगरपालिका–१ सात्तलाका हुन् ।

प्रतिक्रिया