‘कोरोना हटस्पट’ बन्यो दैलेख : संक्रमितको संख्या ७२१ पुग्यो

‘कोरोना हटस्पट’ बन्यो दैलेख : संक्रमितको संख्या ७२१ पुग्यो

दैलेख/सुर्खेत असार ४ गते । कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै सरकारले दैलेखलाई ‘कोरोना हटस्पट’ का रुपमा राखेको छ । लकडाउनलाई कडाइका साथ लागू गरेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सूचारु नगर्ने बताएको छ ।  तर लकडाउन भने खुकुलो बन्दै गएको छ । कोरोनाको उच्च जोखिममा रहेका दैलेख जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । दैलेखमा पछिल्लो २४ घण्टामा ८६ जना संक्रमित भएका छन् । 

बिहीबार दैलेखको महाबु गाउँपालिकामा ७६, दुल्लु नगरपालिकामा २, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २, भैरबी गाउँपालिकामा एक र गुराँस गाउँपालिकामा ५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । योसँगै दैलेखमा कुल संक्रमितको संख्या ७ सय नाघेको छ ।स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।

कोरोना संक्रमित मध्ये नारायणमा १९९, दुल्लुमा ७४, चामुण्डामा ३, आठबीस नगरपालिकामा २१ तथा ठाटीकाँधमा ३, भैरबीमा १०, महाबुमा १८४, नौमूलेमा १४१, भगवतीमाईमा ११, डुङ्गेश्वरमा ६८ र गुराँस गाउँपालिकामा ७ जना छन् । ती मध्ये ३३ महिला सहित ३३४ जना संक्रमितलाई घर पठाईएको छ । यी मध्ये अधिकाँशलाई दोस्रो पटक परीक्षण नगरी डिस्चार्ज भएका हुन् । जिल्लामा कोरोना भाइरसबाट एकजनाको मृत्यु भएको छ।

कर्णालीमा एकै दिन १ सय २० मा कोरोना संक्रमण

कर्णाली प्रदेशमा एकै दिन थप एक सय २० जनामा कोरोना पुष्टि भएको छ ।प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार एकैदिन एक सय २० जना कोरोना संक्रमित बढेका हुन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार २ सय २४ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार पुष्टि भएका नयाँ संक्रमितमध्ये दैलेखका ८६ र सुर्खेतका ३४ जना छन् ।

जसमा २ वर्षीय बालकदेखि ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि भएका कोरोना संक्रमितहरुमा सबैभन्दा बढी दैलेख महावु गाउँपालिका–२ का मात्रै ४८ जना छन् ।बिहीबार ११ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ५ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनबाट ६, महावु आइसोलेसन दैलेखबाट एक, सालकोट आइसोलेसन सुर्खेतबाट तीन र सिम्ता आइसोलेसन सुर्खेतबट एक जना गरी ११ जना विहिबार कोरोना जीतेर घर गएका छन् ।

कर्णाली प्रदेशमा हालसम्म १७ हजारको कोरोना परीक्षण गरिएको छ । जसमध्ये तीन जनाको कोरोनाबाट मृत्यु भएको छ । कर्णाली प्रदेशमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय २२ र सबैभन्दा कम हुम्ला र डोल्पामा १-१ तथा मुगुका २ जनालाई कोरोना पुष्टि भएको छ । यस्तै सल्यानका १ सय ३७, सुर्खेतका २ सय ७१, जाजरकोट ८, कालिकोट ४२, जुम्लामा २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया