ब्याज तिर्न नसक्ने भन्दै व्यवसायी आन्दोलित

ब्याज तिर्न नसक्ने भन्दै व्यवसायी आन्दोलित

सुर्खेत असार २९ गते । बैंकिङ कारोबार बहिस्कार गर्दै यहाँका व्यवसायीले सोमबार वीरेन्द्रनगर बजार बन्द गरेका छन्। बैंकिङ कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले पसलसमेत बन्द गरेका छन्।

लकडाउन खुलेको एक हप्तामा बैंकहरुको ब्याज तिर्न नसक्ने भन्दै व्यवसायी आन्दोलित भएका हुन्। सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएको बताए। व्यवसायीले बैंकिङ कारोबार बहिस्कार गरी पसलसमेत बन्द गर्न थालेपछि उपभोक्ता मारमा परेका छन्।

उनीहरुले सुर्खेतस्थित बैंकहरुमा बैंकिङ कारोबार बहिस्कार गरिएको व्यानरसमेत टाँसेका छन्। आन्दोलनमा लागि गठित संयुक्त संघर्ष समितिले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुँदे मागपत्र र सांकेतिक साँचो बुझाएको छ।

सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको व्यवसायीको आरोप छ। माग पत्र बुझ्दै मुख्यमन्त्री शाहीले माग सम्बोन्धनका लागि संघीय सरकारसँग पहल गर्ने बताए। सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवसायीको चेतावनी छ।

प्रतिक्रिया