रुकुम पश्चिम घटनाबारे संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन

रुकुम पश्चिम घटनाबारे संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन

चौरजहारी घटनाको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई हस्तान्तरण गर्दै समिति संयोजक देवेन्द्र पौडेल।

काठमाडौँ असार ३० गते । ६ जनाको मृत्यु र १२ जना घाइते भएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गत जेठ १० गते भएको घटनाको छानबिन गठित संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । 

संघीय संसद सचिवालय सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन बुझाएका हुन् । संसदीय विशेष समितिले १ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।

छानबिनका क्रममा मृतकका परिवार, घाइते, गाउँले, प्रहरी र प्रशासनका अधिकारीसँग छलफल गरिएको संयोजक पौडेलले बताए । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेस लगायतका राजनीतिक दलहरूले रुकुम पश्चिम घटनाको छानबिन गर्नका लागि माग गरेका थिए । राजनीतिक दलहरूले संसदमा पटकपटक उक्त घटना छानबिन गर्न संसदीय समिति माग गरेपछि सभामुख सापकोटाले जेठ २६ गतेको बैठकमा समिति गठन भएको जानकारी दिएका थिए ।

नेकपा सांसद पौडेल नेतृत्वको ९ सदस्यीय छानबिन समितिमा दुर्गा पौडेल, रामसहायप्रसाद यादव, इकवाल मियाँ, विमला विक, पार्वती विशुंखे, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली सदस्य थिए ।

जाजरकोटका युवक नवराज विकले रुकुम पश्चिम सोतीकी मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको थियो । त्यसक्रममा विकसहित ६ जना सेती नदीमा मृत फेला परेका थिए भने १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया