एमयूमा सबै पदाधिकारीले अनिवार्य रुपमा पढाउनुपर्ने

एमयूमा सबै पदाधिकारीले अनिवार्य रुपमा पढाउनुपर्ने

सुर्खेत साउन २२ गते । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा सबै पदाधिकारीले अनिवार्य रुपमा पढाउनुपर्ने भएको छ । कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।उपकुलपति र रजिष्ट्रारले महिनामा २ कक्षा, डीन, कार्यकारी निर्देशक वा सो सरहका पदाधिकारीले महिनामा ४, सहायक डीनले महिनामा ६, क्याम्पस प्रमुखले महिनामा ८ कक्षा र सहायक क्याम्पस प्रमुखले नियमित सरह कक्षा लिनुपर्ने निर्णय गरिएको छ ।

अनावश्यक रुपमा ओभरटाइम (ओटी) खाने प्रवृत्तिको अन्त्य गर्न र पदाधिकारीको जिम्मेवारीमा रहेका प्राध्यापकलाई प्राध्यापन पेशासँग जोडिराख्न यस्तो निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ ।विश्वविद्यालयका प्रवक्ता डिल्लीबहादुर सिंहका अनुसार विश्वविद्यालयमा स्थायी, करार वा आंशिक शिक्षकको रुपमा नियुक्ति गर्दा एमयूबाटै गोल्ड मेडलिस्ट, विशिष्ट श्रेणी वा प्रथम श्रेणी हासिल गरेकालाई प्राथमिकता दिने निर्णयसमेत गरिएको छ ।

६ महिनाअघि उपकुलपति भएर आएका प्रा. डा. नन्दबहादुर सिंहले पहिलो पत्रकार सम्मेलन गर्दै साढे २ वर्षभित्र सम्पन्न गर्ने गरी भौतिक पूर्वाधार विकासको योजना सुनाए । विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने गरी तयार कार्ययोजना पूरा भएमा एमयू अन्तर्राष्ट्रिय स्तरकै नमुना बन्ने उनको भनाइ छ ।उनले राजनीतिक दबाब वा प्रभावमा नपरी काम गर्ने पनि बताए । ‘पृथ्वीलाई अचेट्ने प्रेसर आए पनि म डराउँदैन,’ पदाधिकारी नियुक्तिको प्रसंगमा उनले भने, ‘योग्य र क्षमतावान मान्छे ल्याउने सन्दर्भमा कोही कसैसँग कम्प्रमाइज हुँदैन ।’

प्रतिक्रिया