कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ पढाउन अनुमति

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ पढाउन अनुमति

जुम्ला भदाै १० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट चिकित्सा विज्ञानअन्तर्गत एमडीजीपीलगायत स्नात्तकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएको छ । अनुमति पाएसँगै कर्णालीमा विशेषज्ञ पढाउन ५ सिट पक्का भएको प्रतिष्ठानले जनाएको छ ।  

प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा साउन ३० गते बसेको बैठकले प्रतिष्ठानमा एमडीजीपी जनरल प्राटिक्स, एमडी एनेष्थेसिया र एमडी पेड्रियाटिक्स विधामा पठनपाठन गर्नको लागि स्वीकृति दिने निर्णय गरेको थियो ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार यसअघि पनि मेडिकल काउन्सिलले एमडीजीपीको लागि अनुमति दिने निर्णय गरे पनि चिकित्सा शिक्षा आयोग गठन भइसकेकाले अध्यापन सुरु भएको थिएन । ‘आयोगको बैठकको निर्णय प्रमाणीकरण भएसँगै जुम्लामा स्वास्थ्य शिक्षा क्षेत्रको स्नात्तकोत्तर तहको कक्षा सञ्चालन बाटो खुलेको छ,’ उनले भने, ‘जुम्लामै एमडीएमएस पढाइका लागि ५ सिटको पक्का भएको छ, छिट्टै एमबीबीएसको स्वीकृति पाउने आशा गरेका छौं ।’

एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानले बेसिक साइन्स ल्याब, आवश्यक उपकरण र प्राध्यापकसहित आवश्यक जनशक्तिको व्यवस्था गरिसकेको छ । शिक्षण अस्पतालमा सिटी स्क्यानदेखि आइसीयूसम्मको व्यवस्था पनि गरिएको रजिष्ट्रार काफ्लेले बताए । उनका अनुसार एमबीबीएस डाक्टरहरुको आवास र थप कक्षाकोठाका लागि तयार गरेको गुरुयोजना २ पटक स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भइ अर्थ मन्त्रालयमा पठाए पनि अझैंपारित हुन सकेको छैन ।

जुम्लामा चिकित्सासास्त्रको पढाइ हुन लागेको भन्दै स्थानीयले करिब ३० करोड रुपैयाँको नि:शुल्क जग्गा प्रतिष्ठानलाई उपलब्ध गराइसकेका छन् । प्राप्त जग्गामा आवश्यक संरचना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेको प्रतिष्ठानले जनाएको छ । अब जुम्लामा उच्चस्तरीय शैक्षिक जनशक्ति उत्पादन हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले बताए ।

प्रतिक्रिया