फुटअपरेटर धारा जडान

फुटअपरेटर धारा जडान

आठबीस नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा ।

दैलेख भदौ १८ गते ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै दैलेखको दुई नगरपालिकामा फुटअपरेटर धारा जडान गरिएको छ । जिल्लाको आठबीस नगरपालिका र नारायण नगरपालिकामा फुटअपरेटर धारा जडान गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले फुटअपरेटर धारा उपलब्ध गराएको थियो । डिसिए नेपालको आर्थिक सहयोगमा आठबीस नगरपालिकामा ५ वटा र नारायण नगरपालिकामा एक वटा फुटअपरेटर धारा जडान गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाले बताए । खुट्टाको सहयोगले धारा खोलेर हात धुन मिल्ने प्रविधिको फुटअपरेटर धारा जडान गरिएको सापकोटाले बताए । ‘कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न हातले नछोएर खुट्टाले धारा खोलेर हात धुन मिल्ने प्रविधिको धारा जडान गरेका हौ, सापकोटाले भने ।

नारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यवहाक अध्यक्ष टिकादेवी जैसी

यसैबिच बिहीवार नारायण नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । एक सय वटा एन नाइन्टीफाइभ मास्क, पाँच सय वटा सर्जिकल मास्क, दुई सय एमएलको ३५ वटा हेण्ड सेनीटाइजर र दुई सेट पीपीई सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यवाहक अध्यक्ष टिकादेवी जैसी, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्कालाई सामग्री हस्तान्तरण गरे । कोरोना भाइरसका बिरामीहरुको उपचारका लागि नगरपालिकाबाट सञ्चालनमा रहेको आइसोलेसन अस्पतालका लागि सामग्री उपलब्ध गराईएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।
त्यस अघि आठबीस नगरपालिकालाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराईएको थियो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायलाई सामग्री हस्तान्तरण गरेका थिए । कोरोना भाइरसका बिरामीहरुको उपचारका लागि आठबीस नगरपालिकाबाट सञ्चालनमा रहेको आइसोलेसन अस्पतालका लागि दुई सय एमएलका एक सय ५० वटा हेण्ड सेनीटाइजर, २६ वटा टाबेल, एक सय वटा एन नाइन्टी फाइभ मास्क, ३० वटा डस्बिन सहयोग उपलब्ध गराईएको हो । यस्तै २६ वटा झुल, १० वटा फिल्टर, १० वटा थर्मस, पाँच सय थान सर्जिकल मास्क, पाँच सय थान ग्लोब्स र २६ वटा पोलर बल्यांकेट प्रदान गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले जनाएको छ ।

प्रतिक्रिया