दैलेख अस्पतालमा भेन्टिलेटर सहितको आईसीयू

दैलेख अस्पतालमा भेन्टिलेटर सहितको आईसीयू

दैलेख भदाै २२ गते । स्वास्थ्य सेवा कार्यालय अन्तरगर्तको दैलेख अस्पतालले आइसीयू सेवा सञ्चालनमा ल्याएको छ । आवश्यक उपकरणहरु जडान भएपछि सेवा सञ्चालन गरिएको हो । पाँच बेडको आईसीयू सेवा सञ्चालन भएसँगै जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज भएको छ । अस्पतालका प्रमुख डा. निरञ्जन पन्तका अनुसार दुई वटा भेन्टिलेटरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याईएको हो । सेवा सञ्चालन भएपछि सिकिस्त (अक्सिजन चाहिने) बिरामीहरुको उपचार थालिएको डा. पन्तले बताए । भेन्टिलेटरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याईसकेकाले जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने उनले बताए । सोमवार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा दिईएको जानकारी अनुसार भेन्टिलेटरसहितको आईसीयू सेवा सञ्चालन भएपनि नियमित अक्सिजनको अभाव खड्कीएको छ । ‘अहिले सिलिन्डरमा भरेर अक्सिजनको व्यवस्था मिलाएका छौ,’ डा. पन्तले भने ।
स्वीकृत १५ बेड, सञ्चालन ५२ बेड
अस्पताललाई नेपाल सरकारले १५ बेड सञ्चालनको स्वीकृत दिएको भएपनि हाल ५२ बेड सञ्चालनमा रहेको अस्पतालका प्रमुख डा. पन्तले बताए । अस्पतालमा डिजिटल एक्सरे जडानको क्रममा रहेको छ । अस्पतालद्धारा सञ्चालित सामाजिक सेवा इकाईबाट गरिब, असहाय, अशक्तता भएको, जेष्ठ नागरिक, लैंगिक हिंसामा परेका लगाएतका व्यक्ति सहित १२ हजार ८ सय ७४ जनाले सेवा लिएका छन् । संकट व्यवस्थापन केन्द्रबाट दुई बर्षमा लैंगिक हिंसामा परेका चार सय ७ जनाले सेवा लिएको बताइएको छ ।
कोरोनाका बिरामी व्यवस्थापनमा आयुर्वेद प्रभावकारी
अस्पताल मातहतमा रहेको आर्युवेद सेवा तर्फ सेवा करारमा आयुर्वेद चिकित्सक नियुक्त गरेर सेवा प्रदान गरिएको अस्पतालका प्रमुख डा. पन्तले जनाए । ‘आर्युवेद सेवाका लागि आयुर्वेद औषधीहरु प्रभावकारी आपूर्तिको व्यवस्थापन मिलाईएको छौ,’ डा. पन्तले भने ‘पूर्वकम (स्टिम वाथ, आइल मसाज) कार्यक्रमको सुरुवात भईसकेको छ ।’ कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुको व्यवस्थापनमा आयुर्वेदको प्रभावकारी प्रयोग गरिएको उनको भनाई छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रयणका लागि अस्पतालले अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको अस्पतालले जनाएको छ । ‘अस्पतालले आरडीटी र पीसीआर परिक्षणलाई प्रभावकारी बनाईएको छ,’ डा. पन्तले भने ‘आइसोलेसन स्थापनापछि बिरामीहरुको उपचार र पीसीआर ल्याब स्थापनापछि व्यवस्थापनको काम अस्पतालले गरेको छ ।
२३५४ जनाले गरे स्वास्थ्य बिमा
स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात पछि २ हजार ३ सय ५४ जनाले बीमा गरेको अस्पतालका प्रमुख डा. पन्तले जनाए । स्वास्थ्य बीमापछि १ सय ३१ जनाले अस्पतालबाट सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय÷दैलेख जिल्ला अस्पतालमा ७ जना बिशेषज्ञ चिकित्सक, १४ जना चिकित्सक सहितको ६५ जनाको दरबन्दी कर्णाली प्रदेश सरकारबाट स्वीकृत भएको छ ।
अत्याधुनिक भवन बनाउने योजना
अस्पतालकोे अत्याधुनिक भवन बनाउने लक्ष लिएको डा. पन्तले जानकारी दिएका छन् । उक्त कार्यलाई दैलेख जिल्ला अस्पतालले आगामी दिनको मुख्य कार्य योजनामा समेटेको छ । अत्याधुनिक भवन निर्माणको लागि ४१ करोडको डिपिआर तयार भईसकेको डा. पन्तले बताए । प्रदेश सरकारबाट तीन बर्षको बहुबर्षिय योजना पारित भएको छ, भवन निर्माण सुरुवात गर्न तीन करोड रुपैयाँ बिनियोन भईसकेको छ, डा. पन्तले भने । अस्पताले कम्पीलिट इलोक्टोनिक मेडिकल रेकर्डर सिस्टम सुरुवात गर्ने, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बिस्तार गर्ने र अस्पतालमा बिशेषज्ञ सेवाको बिस्तार गर्ने लक्ष लिएको छ ।

प्रतिक्रिया