खुद्रा पसलले बदलेको जीवन !

खुद्रा पसलले बदलेको जीवन !

दैलेख (गुराँस) कात्तिक १३ गते ।
श्रीमानबाट सम्बन्ध बिच्छेद भएर अलग बसेपछि आज भोली रत्ना थापाको दैनिकी फेरीएको छ । बुहारी हुँदा विहानै उठेर गर्नुपर्ने घरदैलो होस् वा मेलापात । तर, अहिले उनको अगेनोमा बिहानै चिया पाक्छ । लस्करै चिया पीउन बसेकाहरुलाई चिया बनाउँछिन् । खुद्रा सामान बेच्छिन् ।
२७ बर्षिया रत्ना गुराँस गाउँपालिका–७ स्थित धरमपोखरा कचाली राजमार्ग अन्तर्गत घुम्नेविसाउनीमा विगत २ वर्ष देखि खुद्रा पसल गर्दै आएकी छन् । श्रीमान सम्बन्ध विच्छेद गरेर अलग बसेपछि केही समय सकसले बिताईन् । मिलेको घरबार १ छोरा, १ छोरी र परिवार सहित संगै बस्दै आएकी रत्नालाई बाँकी जिन्दगी एक्लै बिताउनु पक्कै सजिलो थिएन् । टुटेफुटेका मनहरुलाई सम्हाल्दै नयाँ जिन्दगी सुरुवात गर्दा उनले धेरै कष्टहरु सहनु प¥यो । आखिर जिन्दगी एक्लै भए पनि जिउनु पर्नेरहेछ । उनले जिन्दगी जिउनकै लागि थोरै लगानीमा सानो खुद्रा पसल सुरु गरिन् । यहिबाट सूरु भयो उनको नयाँ जिन्दगी ।
कलिलो उमेरमै बिवाह गरेकी थापाको १० वर्ष नबित्दै सम्बन्ध विच्छेद भयो । १ छोरा र १ छोरी सहित उनले घुम्नेविसाउनीमा पसलको सुरु गरेकी थिइन् । तर, ग्राहक थपिदै गए, लगानी गर्ने आर्थिक श्रोत थिएन् । आर्थिक श्रोतको खोजी नगरेकी होइनन् तर त्यस्तो सहयोग गर्ने मनहरु कतै भेटिएनन् ।
जोखिममा परेका बालबालिकालाई सहयोग गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ बाट उनले २० हजार सहयोग प्राप्त गरिन् । घरको थोरै लगानी र संस्थाको सहयोगले उनको खुद्रा पसल बिस्तार हुँदै गयो । ग्राहक थपिदै गए । ग्राहकको आवश्यकता अनुसार खाद्य तथा दैनिक आवश्यकीय सामाग्रीहरु थप्दै गईन् जसले गर्दा उनको आम्दानी पनि बढ्दै गयो ।
आर्थिक अभावले गर्दा विद्यालय नियमित हुन नसकेका छोरा छोरी नियमित विद्यालय जान थाले । कक्षा ५ मा अध्ययनरत १० बर्षिया दिपिन बिसि विद्यालयमा दोस्रो र कक्षा ४ मा अध्ययनरत ८ बर्षिया लिजा बिसि विद्यालय प्रथम भएपछि उनि झनै उत्साहित भएकी छिन् । ‘संस्थाको सहयोग नभए न बालबालिकालाई पढाउन सक्थे न त मेरो जिन्दगी सोचे जस्तै गरी अगाडी बढ्न सक्थ्यो,’ उनले भनिन् ।
कलिलै उमेरमा बिवाह गर्दा समस्या भोग्दै आएको थापा भन्छिन् ‘हामीले त नबुझेरै बिवाह ग¥यौ अरु किशोर किशोरीले भुलेर पनि यस्तो गल्ति नगरुन् ।’ सम्बन्ध बिच्छेद पछिका मेरा दिनहरु दुःख पूर्ण बिते । सामान्य अवस्थामा फर्किन कठोर संघर्ष सामाना गरेको उनको भनाई थियो ।
बालबालिकाको विद्यालय निरन्तरताका लागि खर्च जोहो गर्न सक्ने अवस्था भएपनि आर्थिक दिगोपार्जनका लागि अन्य सहयोग आवश्यक भएको उनको भनाई छ । हामी जस्ता सम्बन्ध विच्छेद गरी एक्लो जिवन निर्वाह गर्दै आएका युवतीहरुको लागि व्यवसाय विस्तार गर्न सरकारले थप सहयोग आवश्यक भएको थापाले बताईन् ।

प्रतिक्रिया