व्यवहार परिवर्तनमा जोड

          |   प्रकाशित मितिः बुधबार, मंसिर १०, २०७७     ::: 156 पटक पढिएको   |  

दैलेख : जिल्लाका सरोकारवालाहरुले लैङ्गिक हिंसा अन्त्यका लागि व्यवहार परिवर्तनमा जोड दिएका छन् । एभरेष्ट क्लबद्धारा आयोजित लैङ्गिकता सम्बन्धि सामाजिक मुल्य र मान्यताहरु तथा घरायसी कार्यको समान व्यवहार सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले समाजमा भईरहेका लैङ्गिक हिंसा अन्त्यका लागि व्यवहार परिवर्तनमा जोड दिएका हुन् ।
कार्यक्रममा नारायण नगरपालिका–७ का वडाध्यक्ष पूर्णबहादुर मल्लले लक्षित वर्गका लागि प्राप्त बजेट विनियोजन र सचेतनामुलक कार्यक्रमहरु गर्न नसेको उल्लेख गर्दै समाज रुपान्तरणमा सबैको हातेमालो जरुरी रहेको बताए ।
एभरेष्ट क्लब दैलेखका महासचिव यज्ञराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले स्वास्थ्य सेवा प्रवाहमा लैङ्गिकताका आधारमा विभेद नभएको दाबी गरे । लैङ्गिकता सम्बन्धि सामाजिक मुल्य र मान्यताहरुहरु तोड्न व्यक्तिको व्यवहार परिवर्तन हुनुपर्नेमा उनको जोड थियो ।
नारायण नगरपालिकाका शिक्षा शाखा संयोजक हिमालयजंग शाहले लैङ्गिक हिंसा अन्त्यका लागि भाषण भन्दा काम गर्नुपर्ने र बनेका नीतिहरु व्यवहारमा कार्यान्वयन हुनुपर्ने जोड दिए । पत्रकार अमर सुनारले बाल विवाहले महिला हिंसाका घटना बृद्धि भएको उल्लेख गर्दै स्थानीय तहले पर्याप्त लक्षित बजेट विनियोजन नगरेको बताए ।
महिला अधिकारकर्मी सविना विकले नीति कार्यान्वयनमा कमजोरी रहेको औल्याईन् । त्रिभुवन मावीका प्रधानाध्यापक निरकबहादुर तारामीले समाजको सकारात्मक परिवर्तन विकाससँग गाँसिएको बताए । कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य गोविन्ददेव भारती, नारायण नगरपालिका–६ का वडासदस्य कृष्ण केसी लगाएतले आ–आफ्नो विचार राखेका थिए ।



Leave a comment

Your email address will not be published.


*