उत्थान परियोजनासँग साझेदारी गर्न प्रदेश सरकार तयार छ : मन्त्री केसी (भीडियो सहित)

उत्थान परियोजनासँग साझेदारी गर्न प्रदेश सरकार तयार छ : मन्त्री केसी (भीडियो सहित)

दैलेख : कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जनताको जीवनस्तर उकास्ने क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छिन् । यूरोपियन यूनियन, दुल्लु नगरपालिका, आठबीस नगरपालिका तथा डिसिए नेपाल र लिवर्डको समन्वयन तथा सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित उत्थान परियोजना शुभारम्भ तथा प्रगति समिक्षा कार्यशाला गोष्ठिमा मन्त्री केसीले परियोजनाले जनताको जीवनस्तर उकास्ने क्रियाकलाप सञ्चालन गरेको धन्यवाद ज्ञापन गरिन् ।
‘सरकारी तथा गैरसरकारी निकायमा प्रशासनीक खर्च बढि हुने र कार्यक्रमको खर्च कम हुने प्रवृति अन्त्य हुनुपर्छ,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले भनिन् ‘जति सुकै प्रशिक्षण र तालिम दिएपनि उपलब्धी व्यवहारमा लागु हुँदैन भने त्यस्तो तालिम दिनु आवश्यक देखिदैँन् ।’
कर्णाली प्रदेश सरकार र परियोजनाले लिएको नमुना गाउँ बनाउने लक्ष एकै खालको भएको बताउँदै मन्त्री केसीले भनिन् ‘परियोजनाले दुल्लु र आठबीस नगरपालिकाका सबै नागरिकहरुको जीवन स्तर उकास्न सक्यो भने त्यो सबै भन्दा ठूलो सफलता हुनेछ, त्यसका लागि प्रदेश सरकार साझेदारी गर्न तयार छ ।’ प्रदेश सरकारले नमुना गाउँको रुपमा काम गरिरहेको बताउँदै मन्त्री केसीले भनिन् ‘परियोजनाले नै सञ्चालन गर्ने गरि जिम्मा दिने वा साझेदारीमा काम गरौँ ।’ उद्यम बिनाको तालिम आवश्यक नभएको मन्त्री केसीको भनाई छ । ‘दैलेखका दुई वटा नगरपालिका आठबीस र दुल्लुलाई नमुना बनाउनुहोस्, हामी साझेदारी गर्न तयार छौ,’ मन्त्री केसीले भनिन् ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले परियोजना लागु भएको ठाउँमा प्रभावकारी क्रियाकलापहरु सञ्चालन भएको बताए । कोरोना महामारीमा जनतालाई आशा जगाउने काम गरेकोमा परियोजनालाई धन्यवाद ज्ञापन गरे । गैरसरकारी संस्थाहरुले परियोजना अबधीसम्म काम गरेर छोड्ने प्रवृति छ, डा. रोकायाले भने परियोजनाले गरेको कामलाई दिगोपना र निरन्तरताका लागि स्थानीय तहसँग जोड्ने आधार बनाउनुपर्छ ।’
कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यकारी निर्देशक सुजन न्यौपानेले परियोजनाको दिगोपनाका लागि नागरिक समाज र स्थानीय सरकारलाई जोडेर उपलब्धी हासिल गर्न सकिने बताए । परियोजना सञ्चालनको क्रममा प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकायहरुको सल्लाह र सुझावलाई कार्यान्वयनमा जोड दिने कार्यकारी निर्देशक न्यौपानेले बताए । सोहि अबसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले परियोजनाले गरेका क्रियाकलाप र आगामी योजनाहरु जानकारी गराएका थिए । कार्यक्रममा प्रदेशस्थित सरोकारवाला निकायका प्रमुख एवं प्रतिनीध सहभागि थिए ।
दैलेखको दुल्लु नगरपालिका र आठबीस नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

भिडियाे

प्रतिक्रिया