ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

दैलेख : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको डाँडीमाडीका लागि खाद्यन्न बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बुधवार बिहान दुल्लू नगरपालिका–४ कालेखोलामा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ठाँटीकाँध गाउँपालिका– १ लकान्द्रका २७ वर्षीय सहचालक दिनेश शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।
भे १ त ७४८१ नम्वरको ट्रयाक्टर सडक भन्दा तल खसेको र खाद्यन्न बस्तुहरु पनि असरल्ल परेको सूचनाका आधार घटनास्थल पुगेको प्रहरीले सहचालक शाहीलाई मृत फेला पारेको इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनापछि चालक फरार भएको हुन सक्ने अनुमान गरिएको तर चालकको परिचय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक खड्काले बताए । प्रहरीका अनुसार दुर्घटना के कति कारणले भयो भन्नेबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया