चालकको चरम लापरवाही : नियमन गर्ने निकाय मौन !

चालकको चरम लापरवाही : नियमन गर्ने निकाय मौन !

ट्रेलरले ठक्कर दिँदा घाइते भएका पूर्णबहादुर महतरा । उनको देउती हस्पिटल सुर्खेतमा उपचार भईरहेको छ ।

दैलेख : दैलेख–सुर्खेत सडक खण्ड अन्तरगर्त रातानाङ्गला देखि झण्डै एक किलोमिटर अगाडी तिव्र गतिमा आईरहेको ना ७ ख ५०७९ नम्बरको टे«लर देखेपछि भैरवी गाउँपालिका–१ रावतकोटका पूर्णबहादुर महतरा र गुराँस गाउँपालिका–८ का श्यामसुन्दर खड्का सवार मोटरसाइकल आफ्नै साइडमा रोकियो ।
एकातिर बायाँ साईडमा भिरालो जमिन । अर्कोतिर छेउमै रोकिएको मोटरसाइकल । तिव्रगतिमा आएको ट्रेलरले मोटरसाइकल चालक महतराको हातमा ठक्कर दियो । बाईक करिब एक सय मिटर तल खस्यो । बाइकलाई ठक्कर दिएको देख्दा देख्दै पनि ट्रेलर चालकले मानविय सहानुभूती समेत देखाएनन् । चालकले ट्रेलरको गति झन तिब्र बनाए । ती चालक गाडी सहित भागेर सुर्खेत पुगे । प्रहरीको निगरानीपछि गाडी (ट्रेलर) र चालक अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छन् ।
महतारा र खड्का सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख अन्तर्गत गुराँस गाउँपालिकामा कार्यरत छन् । गुराँस गाउँपालिकाको–५ को गोगनपानीमा फिल्ड अनुगमन सकेर कार्यालय फर्किदै गर्दा महतारा र खड्का रातानाङ्गलामा दुर्घटनामा परेका हुन् ।
ट्रेलरको ठक्करबाट महताराको दायाँ हात भाँचिएको छ । खड्काको टाउको र आखाँमा चोट लागेको छ । महतारा र खड्का दुबैको देउती हस्पिटल सुर्खेतमा उपचार भईरहेको छ । गाडी (ट्रेलर) धनी अहिलेसम्म पनि सम्पर्कमा नआएको बासुदेव भट्टराईले बताए । विपरित दिशाबाट तिव्र गतिमा आईरहेको गाडीलाई देखेपछि आफ्नै साईडमा रोकेको मोटरसाइकलाई ठक्कर दिने गाडी चालकलाई कानूनी कार्वाहीको दायरामा ल्याउन आलटाल भईरहेको छ ।सवारी धनि समेत सम्पर्कमा नआएको र क्षतीपूतिको लागि कुनै पहल नभएको गुनासो भट्टराईको छ ।

चालकको चरम लापरवाही

दैलेख सुर्खेत सडक सडक साँघुरो भएका कारण दुर्घटना बढी हुने सम्भावना अत्याधिक छ । त्यसमध्ये पनि सिद्धपाईला रातानाङ्गलाको सडक खण्ड मर्मत सम्भारको क्रममा छ । साँघुरो, घुमाउरो र धुलाम्मे सडक भएका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने यात्रीलाई चालकको तिव्र गतिले गर्दा जोखिम झन बढ्दै गएका छन् । महिला सवारी चालकलाई त ठुला सवारी साधनले साईड नै नदिने गरेको गुनासो सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखमा कार्यरत सजना सुनारले बताईन् ।
सुर्खेतबाट गुराँसे बाईकमा आउँदा र जाँदा तिव्र गतिमा गुड्ने गाडीको धुलोले सडक नै नदेखिने भएकाले बाईकनै रोक्नु पर्ने बाध्यता भएको उनि बताउँछिन् । आफु बाहेक अरु पनि सडकमा यात्रा गरिरहेका छन् भन्ने समेत जानकारी नहुने ठुला सवारी चालकहरुका कारण यात्रा जोखिमपूर्ण हुने गरेको सुनारको अनुभव छ । यस सडक खण्डमा सवारी चालकहरुले विद्यालय, सामुदायीक संस्था र साँघुरा मोडहरुमा तिव्र गतिमा सवारी साधन चलाउन नपाईने सरकारी कानुनको अवज्ञा गरेको देखिन्छ । सवारी चालकहरुको लापरवाहीका कारण हुने जोखिम यस सडक खण्डमा यात्रा गर्ने साना सवारी साधन र पैदल यात्रीहरुले विगत देखि भोग्दै आएको भए पनि नियमन गर्ने निकायको ध्यान पुग्न सकेको देखिदैन् ।

दैलेख–सुर्खेत सडकमा टाइमकार्ड : प्रभावकारिता माथी नै प्रश्न !

यात्रुवाहक माइक्रो बस (हाइस) लाई टाइमकार्ड दिँदै तत्कालिन प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर ओली । त्यसबेला लागु गरिएको टाइमकार्ड अहिले अलपत्र परेका छ । फाइल तस्विर

२०७६ मंसिर अन्तिम साता दैलेख सुर्खेत सडकमा टाइमकार्ड लागु भयो । यो खण्डमा त्यसअघि पनि टाइमकार्ड लागू गरिएको थियो । दुर्घटना न्यूनिकरण गर्न भन्दै दैलेख–सुर्खेत सडकखण्डमा टाइमकार्ड लागू गरिएको थियो । दैलेख सदरमुकामबाट छुट्ने यात्रुवाहक बस, माइक्रो बस (हाइस), जीपका लागि यो व्यवस्था गरिएको थियो । अहिले टाइमकार्डको नियम बिचैमा अलपत्र परेको छ ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेखको संयुक्त प्रयासमा टाइमकार्ड लागू गरिएको भएपनि अहिले प्रभावकारीता माथी नै प्रश्न तेस्रीएको छ । त्यसबेला प्रहरीले पहिलो चरणमा दैलेख सुर्खेत सडकखण्डमा टाइमकार्ड लागू गरिएको र लगत्तै कर्णाली राजमार्गमा पनि लागू गर्ने बताएपनि केहि दिन लागु गरेर बीचैमा अलपत्र परेको छ ।
त्यसबेला लागु गरिएको टाइम कार्ड अनुसार यात्रुवाहक सवारी साधनले दैलेख सदरमुकामदेखि माथिल्लो डुङ्गेश्वरसम्म १६ किमि ४५ मिनेट, माथिल्लो डुङ्गेश्वरदेखि रानिमत्ता १६ किमि एक घण्टा १५ मिनेट र रानीमत्तादेखि सुर्खेत बसपार्क २५ किमि एक घण्टा ३० मिनेटमा पुरा गर्नुपर्ने व्यवस्था गरिएको थियो । टाइम कार्ड लागु गर्दा तोकिएको समयभन्दा चाँडो दूरी पार गरेमा कारबाही गर्ने भन्दै प्रचार गरिएपनि अहिले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेख मौन बसेको छ ।
यता दैलेख सुर्खेत सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले ट्रक, टिपर तथा ट्रेलरको अत्याधिक गति नियन्त्रण गर्न टाइम कार्ड अनिवार्य लागु गरिनुपर्ने माग राखेका छन् । ट्रक, टिपर तथा ट्रेलर चालकले चालकले ट्रिप अनुसारको ज्याला पाउने भएकाले आपसी प्रतिष्पर्धा र अत्याधिक गतिमा टिपर हाँक्ने गर्छन् ।

प्रतिक्रिया