वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् ।  ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको समय भएको भन्दै मुख्यमन्त्री राईले सानो संख्यामा जन्ती लगेर विवाह गरेका हुन् ।

बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका छन् । विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकाललगायत केही नेता पुगे पनि अन्य धेरै नेतालाई भने साँझ आयोजना गरिएको रिसेप्सनमा बोलाइएको छ । मुख्यमन्त्री राईको विवाहको रिसेप्सनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई निम्ता दिइएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया