रेडियो बहसमा महिला अधिकारबारे प्रश्नै–प्रश्न

रेडियो बहसमा महिला अधिकारबारे प्रश्नै–प्रश्न

हिक्मतबहादुर नेपाली, दैलेख ।
पहिलो सहभागि बोलिन् – ‘समाजमा महिला हिंसाको कारणले मानसिक रोग बढ्न लाग्यो, पुरुषहरुले दिनहुँ जसो महिलामाथी गर्ने थिचोमिचो र अभद्र व्यवहार र कुटपिटले महिलाहरु मानसिक रोगले ग्रसित भईसके, उपप्रमुख ज्यू, महिला हिंसाबाट कहिले मुक्ती पाउँछन् ?’ उनि एकोहोरो थप्दै गइन् । पुरुषहरु भन्दा महिलाहरुमा बेरोजगारीको समस्या अध्याधिक छ, स्थानीय तहले महिलाहरुलाई रोजगारी सृजना गर्न के गरिरहेको छ ? उनि थिइन्, पुष्पा गिरी ।
फेरि अर्को सहभागिको कटाक्ष प्रस्तुत भयो– स्थानीय तहले महिला लक्षित बजेटबाट कस्ता कस्ता योजनाहरु बनाउँछ ? ती योजनाबाट बर्षेनी कति जना महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन् ? महिलाहरुका लागि स्थानीय सरकारले छुट्याउने बजेट न्यून भएको र बिनियोजित बजेट प्रभावकारी कार्यान्वयन नभएको तर्फ ध्यानाकर्षण गराउँदै दिपा खड्काले भनिन् ‘स्थानीय सरकारले महिला लक्षित बजेट बिनियोजन गरेपनि प्रभावकारी काम किन नभएको होला ?’
तेस्रो सहभागि बोलिन्– नगरपालिका क्षेत्रभित्रका विद्यालयमा अध्ययनरत बालिका र किशोरीहरु असुरक्षित भए, किशोरी तथा बालिकाहरुलाई सुरक्षित बनाउन आत्म सुरक्षा तालिम सञ्चालन गर्ने योजना नगरपालिकासँग छ की छैन ? शिक्षिका समेत रहेकी गिता रिजालले प्रश्न गर्दैै भनिन् ‘हिंसा पीडित महिलाहरुलाई सुरक्षाका राख्ने सेल्टर स्थापना गर्ने नगरपालिकाको योजना के छ ?
चौथो सहभागि बोल्छिन्– ‘बाल विवाह अन्त्यका लागि नगरपालिकाले अहिलेसम्म के के काम ग¥यो ? बालिका राधा गिरीले प्रश्न गर्दै भनिन् ‘दुल्लु नगरपालिकामा अझै पनि बाल विवाह व्याप्त छ । उपप्रमुख ज्यू, बाल विवाह अन्त्य गर्न तर्फ नगरपालिकाको योजना के छ ?’
यी प्रश्न १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा दुल्लुमा आयोजित महिलाको हक अधिकार, कानुनी प्रावधान तथा न्यायमा पहुँच विषयक रेडियो बहसमा सहभागि महिला, किशोरी र बालिकाहरुले नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरुलाई सोधेको प्रश्न हो । यी प्रतिनीधिमुलक हुन् । कार्यक्रममा सहभागि झण्डै २० जना महिलाहरुले नगरपालिका, जनप्रतिनीधि, कर्मचारी र इलाका प्रहरी कार्यालयलाई प्रश्न गरे । महिलाहरुले महिला लक्षित बजेट, महिला हिंसा, बाल विवाह, छाउपडी प्रथा, कुपोषित महिला र बालबालिका, महिलाहरुको न्यायमा पहुँच नपुगेको, हिंसा पीडित महिलाहरुलाई राख्ने सेल्टर नभएको, महिला अधिकार कार्यान्वयन नभएको, बालिका तथा किशोरीहरुलाई आत्मसुरक्षा तालिमको आवश्यकता लगाएतका सवालमा प्रश्न गरेका थिए ।


सहभागिको सोधेको प्रश्नको जवाफ दुल्लु नगरपालिकाका उपप्रमुख विष्णु थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल, नगरपालिकाका अन्य कर्मचारी, इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख लगाएतले दिएका थिए । नगरपालिकाका उपप्रमुख थापाले महिला अधिकार कार्यान्वयन गर्न आफु लागिपरेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत नेपालले हिंसा पीडित महिलाहरुको सुरक्षाका लागि सेल्टर निर्माणको आवश्यकता औल्याउँदै सेल्टर स्थापनाको लागि पहल गर्ने, महिला लक्षित बजेट प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, तयार नेपाल, सिएमसी नेपाल, सेवक दैलेख, एभरेष्ट क्लब, आवाज संस्थाको समन्वय सहकार्यमा दुल्लु नगरपालिकाद्धारा आयोजित कार्यक्रममा हिंसा पीडित महिला, महिला मैत्री पुरुष, दैवि प्रकोप पीडित, कोभिड–१९ प्रभावित, अपाङ्ग महिला, एकल महिला र कक्षा १२ मा उत्कृष्ठ छात्रा गरि ७ जनालाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । सम्मान पाउनेहरुमा हिंसा पीडित महिलाको रुपमा तारा गिरी, महिला मैत्री पुरुषमा किरण सार्की, दैवि प्रकोप पीडित आइती विक, कोभिड–१९ प्रभावित पवित्रा सुनार,अपाङ्ग महिला पदमकला खड्का, एकल महिला मोतीकला कार्की र कक्षा १२ मा उत्कृष्ठ छात्रा मनिषा कुमारी उपाध्याय छन् ।

प्रतिक्रिया