मानव अधिकार रक्षकहरुको सुरक्षा जरुरी : बुढाथोकी

मानव अधिकार रक्षकहरुको सुरक्षा जरुरी : बुढाथोकी

दैलेख : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले अरुको मानव अधिकार वकालत गर्ने क्रममा मानव अधिकार रक्षकहरु नै जोखिममा पर्ने गरेको बताएका छन् । इन्सेकले सोमवार दैलेखमा मानव अधिकार रक्षकहरुको सवलीकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण कार्यक्रममा उनले सो विचार राखेका हुन् । बुढाथोकीले मानव अधिकार रक्षकहरुको सुरक्षा गर्न सके मात्र मानव अधिकारबाट बञ्चित पीडितहरुको पैरबी गर्ने काम प्रभावकारी हुन सक्ने भएकोले इन्सेकले मानव अधिकार रक्षकहरुलाई संगठित गराउँदै आएको औल्याए ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुबेदीले इन्सेकको मानव अधिकार प्रवद्र्धन अभियानमा नागरिक समाजको सहयोग उल्लेखनीय रहेको बताए । पीडितको न्याय र दण्डहीनताको अन्त्यमा सबैको चासो रहनुपर्ने उनको भनाई थियो । सोहि अबसरमा इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार सवलीकरण परियोजनाका संयोजक सरिता पुरीले जिल्ला स्तरीय सञ्जालले मानव अधिकार पैरबीको काममा संगठित आवाजको काम गरेको र जसको बलबाट राज्यका निकायहरुलाई जिम्मेवार बनाएको अनुभव सुनाइन् ।
मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले मानव अधिकार विश्वव्यापी घोषणापत्र, विभिन्न महासन्धी, नेपालको संविधान र ऐन कानूनले मानव अधिकार सवलीकरणमा पु¥याएको सहयोग र दैलेखमा मानव अधिकारको अवस्था विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागीहरुवीच जिल्लाको मानव अधिकारको अवस्था सुधार सवालमा खुल्ला छलफल समेत भएको थियो । उक्त कार्यक्रमबाट दैलेखका पत्रकार बिशाल सुनारको संयोजकत्वमा १३ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । सञ्जालको सहसंयोजक लिला खत्री र सदस्य सचिव इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार रहेका छन् ।
जिल्लामा अधिकारको वकालत तथा पैरबी गर्दै आउनुभएका जीतबहादुर जीसी, तेजबहादुर थापा, बृष बयलकोटी, टंक सुनार, यज्ञराज थाप, रमा श्रेष्ठ, सविना बिक, टेकबहादुर केसी, टोपेन्द्र सोनी र सर्वजीत थापा जिल्ला स्तरीय मानव अधिकार सञ्जालमा सदस्य बनेका छन् ।

प्रतिक्रिया