एकै पटक दुई सय विद्यार्थी बिरामी, तीन दिनका लागि विद्यालय बन्द

एकै पटक दुई सय विद्यार्थी बिरामी, तीन दिनका लागि विद्यालय बन्द

नवदुर्गा आधारभुत विद्यालय/बिरामी विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिँदै ।

दैलेख : दैलेखको एक सामुदायिक विद्यालयमा सयौ विद्यार्थीहरु एकै पटक बिरामी परेका छन् । जिल्लाको नारायण नगरपालिका–५ स्थित नवदुर्गा आधारभुत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन् । विद्यालयका दुई सय जना विद्यार्थीहरु एकै पटक विरामी परेको विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीले बताए । विद्यालयमा दुई सय ८० जना विद्यार्थीहरु अध्ययनरत छन् । ती मध्ये दुई सय जना विद्यार्थीहरुमा रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने जस्ता समस्या देखा परेको प्रधानाध्यापक रेग्मीले बताए । बाँकी विद्यार्थीहरुमा तनाबग्रस्त अनुहार रातोपिरो हुने समस्या देखा परेको छ । गत शुक्रवार तीन जना विद्यार्थीहरु बिरामी परेका थिए । त्यसयता दिनप्रतिदिन बिरामी हुने विद्यार्थीहरुको संख्या बढिरहेको प्रधानाध्यापक रेग्मीले जानकारी दिए ।
बिद्यार्थीहरु बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । आगामी शुक्रवार सम्मका लागि विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरुलाई जस्तै विद्यालय क्षेत्रका समुदायमा समेत देखा परेको छ । ‘विद्यार्थीहरु बिरामी पर्न थालेपछि अभिभावक भेला गरेका थियौ, अभिभावकहरुले समेत बिरामी परेको बताउनुभएको छ,’ प्रधानाध्यापक रेग्मीले भने ‘बिरामी विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेर सामान्य औषधी वितरण गरेर घरमा आराम गर्न भनेका छौ, समुदाय स्तरमा समेत औषधी वितरण गरिएको छ ।’
विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिरामी पर्नु अघि सोहि वडाको छात्तिकोट गाउँमा एक बालकको मृत्यु भएको थियो । ती बालकको पहिचान भने नखुलेको नारायण नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर बस्नेतले बताए । वडाध्यक्ष बस्नेतका अनुसार ती बालकमा पनि रुघा खोकी लाग्ने, ज्वरो आउने, हात खुट्टा काप्ने, आँखा फर्काउने जस्ता समस्या देखिएको बुझिएको छ । विद्यालय बन्द गरेर पनि विद्यार्थीहरुको स्वास्थ्यमा सुधार नआए गाउँमै शिविर चलाउने वडाध्यक्ष बस्नेतले बताए ।
उक्त विद्यालयका बिद्यार्थीहरु बिरामी परेपछि दैलेख अस्पतालका डा. विवेक गुरुङ्ग सहितको टोली विद्यालयमा पुगेको थियो । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार अस्पतालबाट खटिएको डाक्टर सहितको टोलीले बिद्यार्थीहरुको चेकजाँच र औषधी वितरण गरेको थियो । बिद्यार्थीहरुमा देखिएको समस्या कोरोना भाइरसको लक्षण नभएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए । उनले विद्यालयका विद्यार्थी र समुदायस्तरमा देखिएको समस्या भाइरल ज्वरो हुनसक्ने बताए । एकै पटक ठूलो संख्यामा विद्यार्थीहरु बिरामी परेपछि अभिभावकहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया