श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा

श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा

आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका सुकीका श्रीमान मानसिंह बडुवाल।

दैलेख : दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको घटनामा सुकीका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ। उक्त घटनामा सुकीका श्रीमान ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाइ बजिरसिंह थापाले आत्महत्या दुरुत्साहन मुद्दा दिएका हुन्। 

मानसिंह विरुद्ध ज्यान सम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन) मुद्धाको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए। आत्महत्या दुरुत्साहन मुद्धामा जाहेरी परेको र सुकीका श्रीमान मानसिंह पक्राउ परिसकेको प्रहरी निरीक्षक सुनारले बताए। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सुकीका श्रीमान मानसिंहलाई प्रहरीले दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती दिइ थप अनुसन्धान थालेको छ। 

सुकी चार सन्तानसहित फागुन २३ गते कर्णालीमा हाम फालेकी थिइन्। कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीय ललित बडुवालको शव पनि कर्णाली नदीमै भेटिएको थियो। कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। 

आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भने १० दिनपछि कर्णाली नदिको किनारमै भेटिएको थियो। उनको शव १० दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको थियो।  कर्णालीमा हाम फालेर आत्महत्या गरेका पाँचै जनाको पोष्टमार्टम अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा गरिएको थियो।

प्रतिक्रिया