बाल अभियान्ताहरुलाई तालिम

बाल अभियान्ताहरुलाई तालिम

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका बाल अभियान्ताहरुलाई तालिम दिईएको छ । बालअधिकारको बारेमा आधारभूत जानकारी, सामाजिक सवालको पैरवी र सञ्चार सीपको बारेमा ज्ञान प्रदान गर्ने उद्धेश्यले बाल अभियान्ताहरुलाई तिन दिने क्षमता विकास तालिम दिईएको हो । गुराँस गाउँपालिकाको समन्वयमा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाद्धारा गुराँस गाउँपालिकाका बाल अभियान्ताहरुको लागि आयोजित तालिम सम्पन्न भएको छ ।
तालिममा बालअधिकार, बाल संरक्षण र बाल सहभागिताको बारेमा छलफल गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । बालबालिकाका सवाल र समस्याको पहिचान, बालबालिकाका सवालहरुको बारेमा पैरवी तथा वकालत गर्न बालअभियान्ताको सीपको विकास, बाल अभियान्ताले समुदायमा सञ्चालन गरेका क्रियाकलापहरु र पारेको प्रभावका विषयमा छलफल गरिएको अधिकारीको भनाई थियो ।
‘बालक्लवहरुले आफ्नो टोल, समुदाय र विद्यालयमा सिर्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका छन्,’ अधिकारीले भने ‘बालविवाह, छाउपडी, बालहिंसा र बालश्रम जस्ता विकृतिहरुको अन्त्यका लागि विभिन्न अभियानहरु सञ्चालन गरेका बालअभियान्ताहरुले वातावरण प्रदुषण नियन्त्रण गर्न विद्यालय तथा समुदायमा बृक्षारोपण बगैचा निर्माण जस्ता कार्य समेत गर्दै आएका छन् ।’

बाल अभियान्ताहरुले गुराँस गाउँपालिकामा बालविवाह न्यूनिकरण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । सहभागीहरु मध्येबाट गरिएको एक सर्वेक्षणमा ३१ प्रतिशत बालविवाह, २१ प्रतिशत छुवाछुत, १८ प्रतिशत छाउपडी, ८ प्रतिशत बालश्रम, १४ प्रतिशत गरिबी र घरायसी कामले गर्दा ८ प्रतिशत बालबालिका समस्यामा रहेको बताएका थिए । बालविवाह हुनुको मुख्य कारणमा कलिलो उमेरमै माया प्रेममा आकर्षित हुनु, किशोरावस्थामा उत्पन्न हुने यौन जिज्ञासाको व्यवस्थापन गर्न नसक्नु, आधारभूत शिक्षा उतिर्ण गर्न नसकि विचमै पढाई छोडनु, आर्थिक स्थिती कमजोर भएका कारण बालविवाह गर्न बाध्य हुनु जस्ता समस्याले गर्दा बालविवाह गर्नेको संख्यामा कमि आउन नसकेको अभियान्ताहरुको बुझाई थियो ।
अभियान्ताहरुले बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा न्यूनिकरणका लागि समुदायमा अभियानहरु सञ्चालन गर्ने, बालअधिकारका सवालमा सडक नाटक, सांस्कृतिक कार्यक्रम मार्फत समाजमा विद्यमान सोचाई तथा व्यवहारमा परिवर्तन गर्न सहयोग गर्ने, जोखिममा रहेका बालबालिकालाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा पहल गर्ने लगाएतका क्रियाकलाप समुदायमा सञ्चालन गर्नेछन् ।
उक्त तालिममा १३ जना बालबालिकाको सहभागीता रहेको थियो भने तालिमको सहजीकरण सेभ द चिल्ड्रनका पैरवी संयोजक सिर्जन अधिकारी र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले गरेका थिए । बालबालिकाले समुदायस्तरमा सञ्चालन गर्ने क्रियाकलापहरुको लागि कार्ययोजना समेत तयार गरेका छन् ।

प्रतिक्रिया