यी हुन् एमालेका ४ सांसद : जसले संसदीय दलको ह्वीप उल्लंघन गरे

यी हुन् एमालेका ४ सांसद : जसले संसदीय दलको ह्वीप उल्लंघन गरे

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पार्टी नेकपा (माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसद मत पाएपछि उनको पद जोगिएको छ । विश्वासको मतको लागि २० सांसद आवश्यक थियो ।प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरेका छन् । उनीहरु मधव नेपाल पक्षीय सांसद हुन् । मत विभाजनको आधारमा गरिएको मतदानमा ५ जना विश्वासको मतको पक्षमा उभिएका थिए । राप्रपाकी एक्ली सांसद सोशिला शाहीले भने तटस्थ बस्ने निर्ण लिइन् ।

योसँगै मुख्यमन्त्री शाहीको सरकार तत्कालको लागि जोगिएको छ । केही महिनापछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भएको स्रोतको भनाइ छ । ह्वीप उल्लंघन गर्ने सांसदहरु दलबाट कारबाहीमा परे पनि केही समय मन्त्री हुने उक्त स्रोतले बतायो ।एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका थिए । माधव नेपाल समूहका सांसदहरुले संसदीय दलको ह्वीप उल्लंघन गर्ने आकलन गरिएको थियो । शुक्रबार बिहान संसदीय दलका नेता यामलाल कँडेलको घरमा बसेको दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

यामलाल कँडेल भन्छन्- पार्टीका जिम्मेवार साथीहरूबाट राजनीतिक अपराध भयो

कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्नुअघिसम्म एमाले संसदीय दलका नेता यामलाल कँडेल पारित नहुनेमा ढुक्क थिए । उनलाई भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिइसकेको थियो । तर, उनले नसोचेको मत परिणाम आयो । कर्णाली सरकारले विश्वासको मत लिएपछि कँडेल आफ्नो पार्टीबाट ‘फ्लोर क्रस’ गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । पार्टीका जिम्मेवार नेताहरुले राजनीतिक अपराधको पराकाष्टा प्रस्तुत गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिए । कँडेलले भने, ‘यस्तो होला भन्ने सोचिएको थिएन । हाम्रा साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौं ।’ एमालेका चार सांसदहरुले ‘फ्लोर क्रस’ गरेपछि शाहीको सरकारले बहुमत पाएको छ ।

कर्णालीमा एमालेको संसदीय दल बैठक बस्दै, पाँच सांसदमाथि कारवाही हुने

कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका पाँच सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने पाँच सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ ।पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।

प्रतिक्रिया