बस र टिपर जुध्दा ५ को मृत्यु, ३७ घाइते

बस र टिपर जुध्दा ५ को मृत्यु, ३७ घाइते

(बाँके) – कोहलपुरमा शुक्रबार साँझ बस र टिपर ठोक्किँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतदेखि धरान जाँदै गरेको मे१ख ३३४७ नम्बरको रात्रिबस र पूर्वबाट पश्चिम आउँदै गरेको टिपर कोहलपुर–१३ बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आपसमा जुधेको जिल्ला ट्राफिक कार्यालय बाँके प्रमुख राजु भण्डारीले बताए ।
दुर्घटनामा मृत्यु हुनेमा कोहलपुर–१२ का २१ वर्षीय उदय बाठा, १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी–७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेचीनगर–१० का ४५ वर्षीय छत्रबहादुर कटवालको सनाखत भएको कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालले बताए । मृत्यु हुने एक जना महिलाको सनाखत हुन बाँकी छ । बसमा सवार ४२ जना सबै घाइते भएका थिए । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । ‘टिपरमा दुई जना सवार थिए भन्ने अनुमान छ, उनीहरू दुर्घटनामा परेका घाइतेमध्येका हुन् वा मृत्यु भएकामध्येका भन्ने खुलेको छैन,’ डीएसपी खनालले भने, ‘राति घटना भएकाले उद्धारमै हतारहतार छ । भोलिमात्रै विस्तृत खुल्छ ।’ बालुवा बोकेको टिपरको अघिल्लो भाग ठोक्किएर कुच्चिएको छ भने बस नियन्त्रणभन्दा बाहिर गएर सडकमुनि पल्टिएको छ । जुधेका दुवै सवारी ‘ओभर स्पिड’ मा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया