चिकित्सकमाथि आक्रमण भएको भन्दै भेरी अस्पतालमा विरोध प्रदर्शन

चिकित्सकमाथि आक्रमण भएको भन्दै भेरी अस्पतालमा विरोध प्रदर्शन

नेपालगन्ज : नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्  ।कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले शुक्रबार अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ ।जेठ ४ गते भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । अस्पतालका अनुसार रावतका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश सहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए ।

यसअघि विज्ञप्ति जारी गरी संघकी जिल्ला अध्यक्ष लक्ष्मी केसी ओलीले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएकी थिइन् । संघले घटनामा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न र आगामी दिनमा निर्भीकतापूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।

बिरामीका आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । त्यही आक्रोशमा उनीहरूले आईसीयूमा प्रवेश गरी तोडफोडसमेत गरेका थिए ।घटना छानबिन गर्न स्थानीय प्रशासनले मध्यराति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।

बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए । कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।

प्रतिक्रिया