दैलेखमा ६ घर भत्किए, शिशु सहित २६ जना प्रभावित

दैलेखमा ६ घर भत्किए, शिशु सहित २६ जना प्रभावित

लगातारको बर्षातले भत्किएको दुल्लु नगरपालिका–९ की हिरा भण्डारीको घर

दैलेख : लगातारको बर्षातका कारण दैलेखमा ६ घर भत्किएका छन् । दुल्लु नगरपालिका वडा नम्बर ९ मा ६ वटा घर भत्किएको हो । दुल्लु नगरपालिका–९ का वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा गाउँ र धामीगाउँमा गरी ६ घर भत्किएका हुन् । प्यादुराका ३ वटा घर र धामीगाउँका ३ वटा घर भत्किएको वडाध्यक्ष बोहोराले जानकारी दिए । उनका अनुसार भत्किएका मध्ये दुई वटा घर पूर्ण रुपमा क्षती भएको छ ।
‘अहिले आंशिक र पूर्ण रुपमा क्षती भएका घरको परिवारका सदस्यहरुलाई नजिकका आफन्तको घरमा राखिएको छ,’ वडाध्यक्ष बोहोराले भने ‘बर्षातका कारण घर भत्किदाँ मानवीय क्षती भने भएको छैन् ।’ प्यादुरा गाउँका हिरा भण्डारी, उर्मिला विक र मन्दरा भुलको घर भत्किएको हो । तीन घरका १४ जना प्रभावित बनेका छन् । यस्तै धामीगाउँका खम्ब विकको घर पनि भत्किएको छ । नवजात शिशु र श्रीमतीसहित बस्दै आएको घर भत्किएपछि खम्बको परिवार अहिले बिचल्लीमा परेको छ । सोहि ठाउँका झुपा कामी र रामसरा सार्कीको घर भत्किएको हो । यहाँका तीन घरका १२ जना नागरिक प्रभावित भएको वडाध्यक्ष बोहोराले बताए ।
लगातारको बर्षातका कारण जिल्लाभर कुनै मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । ‘कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो गईरहेको छ,’ अन्य सहायक सडकहरुमा पनि यातायातका साधन सञ्चालन हुन कठिन छ,’ डिएसपी अनुपम श्रेष्ठले भने । राजमार्गमा गएको पहिरोलाई पन्छ्याउँदै सडक सुचारु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । त्यसबाहेक दैलेख सुर्खेत सडक खण्ड, निर्माणाधिन मध्यपहाडी राजमार्ग लगाएतका स्थानीय तहको केन्द्र जोड्ने मुख्य सडक र सहायक सडकहरुमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया