बलात्कारको आरोपमा पक्राउ

बलात्कारको आरोपमा पक्राउ

युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भद्रबहादुर बुढा

दैलेख : २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गुराँस गाउँपालिका–३ का भद्रबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

बुढाले ती युवतीलाई असार ६ गते आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित परिवारले मंगलबार प्रहरीमा जाहेरी दरखास्त दिएका थिए ।

ती युवती असार ६ गते गुराँस गाउँपालिका–३ सेरीवाडास्थित आफ्नो आफन्तले बनाएको नयाँ घरको घर पैँचोमा गएकी थिइन् । उनी सोहि दिन मामा घर जान लागेकी थिइन् । मामा घर जान लागेको मौका छोपी ती युवतीलाई भद्रबहादुरले मेरो घरमा सुत्न जाम भनेर हात समाती लतार्दै लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ । मुख थुनेर चिच्याउन कराउन नदिइ भद्रबहादुरले ती युवतीलाई आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा भद्रबहादुरलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।  पक्राउ परेका भद्रबहादुरलाई जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दा दर्ता गरी दैलेख जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया