दिवंगत जगतजंग थापाको स्मृतिमा अक्षयकोष स्थापना

दिवंगत जगतजंग थापाको स्मृतिमा अक्षयकोष स्थापना

दैलेख : नेपाली काँग्रेस दैलेखका पूर्वसभापति जगतजंग थापाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । थापाका भाई धर्मजंग थापा र छोरीहरुले तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । नारायण नगरपालिका–१ स्थित त्रिभुवन माध्यामिक विद्यालयमा जगतजंग थापा छात्रवृति अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोष बापत तीन लाख रुपैयाँको चेक स्वर्गीय जगतजङ्ग थापाका भाई धर्मजंग थापाले विद्यालयका प्रधानाध्यापक निरकबहादुर तारामीलाई हस्तान्तरण गरेका छन् । उक्त अक्षय कोषबाट हरेक वर्ष गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिनेछ । अक्षयकोषबाट जेहन्दार तथा साहाराविहिन बालवालिकाले निरन्तर आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्नेछन् ।

पञ्चायत कालमा युवक संगठनको भेरी अञ्चल संयोजक रहेका स्वर्गीय जगतजंग थापा २०५३ देखि २०५६ सम्म नेपाली कांग्रेस दैलेखको सभापति थिए । त्यसयता राजनीतिमा सक्रिय रहेका थापा २०७४ मा भएको कर्णाली प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनेका थिए । उनी लोकतान्त्रिक गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट प्रदेश सांसदको निर्वाचन लडेको थिए ।

उनले नेपाल बाल संगठनको सभापति, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थामार्फत समाज सेवा गरेका थिए । भद्र, शालिन र बौद्धिक राजनीतिज्ञको रुपमा स्थापित नेता थापा नेपाली कांग्रेसको महासमिति सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका सदस्य हुन् ।
२००५ मा नारायण नगरपालिका–२ जाहारकोटमा जन्मिएका काँग्रेस नेता थापाको ७३ वर्षको उमेरमा निधन भएको हो । उनि त्रिभुवन मावीका शिक्षक समेत थिए ।

 

 

प्रतिक्रिया