कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी !

कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी !

दैलेखको गुराँस गाउँपालिकास्थित डुडापोखरामा बालविवाह न्यूनिकरण गर्न गरिएको अन्तरपुस्ता संवाद ।

दैलेख : उमेर ३२ बर्ष । तर, १७ बर्ष हुँदा नै उनको पहिलो सन्तानको रुपमा छोरी जन्मिईसकेको थियो । उनि हुन्, गुराँस गाउँपालिका–२ डुडापोखरास्थित दलित बस्तिका मोतीकला नेपाली । उनको १२ बर्षको कलिलै उमेरमा विवाह भएको थियो । बिहेपछि उनले पढ्न समेत पाइनन् ।

‘छोरी हुर्किदै गएको भन्दै बाबुआमाले राम्रो केटा भनेर मागी बिहे गरिदिए,’ उनि भन्छिन् ‘सानै उमेरमा विहे गरेका कारण पढाई छुट्यो, अहिले मेरो स्वास्थ्य असाध्यै कमजोर छ, कमाएको पैसा जत्ति औषधी उपचारमै सकिन्छ ।’ उनका अहिले एक छोरा र एक छोरी छन् । दुवै सन्तान शल्यक्रियामार्फत जन्मिएको उनको भनाई छ ।

‘कलिलैमा बिहे भयो, बालापनमै आमा बन्नु प¥यो, अहिले स्वास्थ्य अवस्था कमजोर बनेको छ, अर्कोतिर पढ्न पनि पाइँन,’ उनले भनिन् । मोतिकलाको सपना आफ्ना सन्तानलाई उच्च शिक्षा अध्ययन गराउने छ । आफुले उमेर नपुग्दै बिहे गरेकी उनि अहिले बाल विवाह विरुद्धकी अभियान्ता समेत हुन् ।

आमाको दुःखलाई नजिकबाट नियालेकी मोतीकलाकी छोरी १५ बर्षीया सुस्मिता उमेर नपुगी बिहे गर्नुहुँदैन भन्नेमा सचेत छिन् । कक्षा १० मा अध्ययनरत सुस्मिता भन्छिन् ‘बाल विवाह कानूनी अपराध हो, बाल विवाह गर्दा स्वास्थ्यमा समस्या त आउँछ नै पढाई पनि छुट्छ ।’

सोहि ठाउँकी यशोदा नेपाली २४ बर्षकी भइन् । उनका ३ सन्तान छन् । उनले कक्षा ५ मा पढ्दा पढ्दै १४ बर्षको उमेरमा बिहे गरेकी थिइन् । कानुनी रूपमा बिहे गर्ने उमेरमा उनी तीन छोराछोरीकी आमा बनिसकेकी थिइन् । बिहेपछि उनको पढाई छुट्यो । बालापनमै आमा बन्नुप¥यो । ‘पढ्ने उमेरमा छोराछोरीको स्याहार सुसारमा लाग्नुप¥यो,’ उनि भन्छिन् ‘अहिले आएर पछुतो लाग्छ ।’

२५ बर्षीया डिलु नेपालीको १५ बर्षको छँदा नै बिहे भयो । अहिले उनका तीन सन्तान छन् । आमाले दोस्रो बिहे गरेको र आर्थिक अवस्था कमजोर भएपछि कलिलै उमेरमा बिहे गर्नुपर्ने बाध्यता भएको डिलुको अनुभव छ । अहिले ३१ बर्ष पुगेकी टिका नेपाली भन्छिन् ‘त्यतिखेरको बिहे रहर नभएर बाध्यता थियो ।’ उनको पनि कलिलै उमेरमा विवाह भएको थियो ।

मोतिकला, यशोदा र डिलु जस्तै कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गरेकाहरु अहिले पछुताउँछन् । बाल विवाह गरेकाहरुको बिहेसँगै पढाइ समेत छुट्ने गरेको अधिकारकर्मीहरु बताउँछन् ।

पहिला मागेर हुने विवाह अहिले आफै गर्ने प्रचलन बढेको छ । कलिलो उमेरमै विवाह गर्ने कारण पारिवारिक संस्कारले पनि प्रभाव पार्ने गुराँस गाउँपालिकाकी जानकी पुनमगर बताउँछिन् । केहिले आर्थिक तथा सामाजिक कारण तथा कोही पढाई बिग्रेपछि कलिलै उमेरमा बिहे गर्र्ने गरेको उनको भनाई छ ।

विवाह छिटो हुनुमा आर्थिक समस्या पनि एक प्रमुख कारण रहेको सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारी बताउँछन् । ‘बाल विवाह नरोकिनुमा गरिबी प्रमुख कारण हो,’ अधिकारी भन्छन् ‘केही यस्ता परिवार छन् उनीहरुलाई अहिले पनि बिहान खाए बेलुकी छाक टार्नको समस्या हुन्छ ।’ अभिभावकले आफ्ना सन्तानको भावना नबुझ्दा समेत बाल विवाह बढिरहेको उनको भनाई छ ।

जिल्लामा बाल विवाह न्यूनिकरणका लागि थुप्रै प्रयासहरु पनि भएका भईरहेका छन् । हालै गुराँस गाउँपालिका–२ स्थित डुडापोखराको दलित बस्तिमा बालविवाह न्यूनिकरणका लागि अन्तरपुस्ता संवादको सुरुवात गरिएको छ । उक्त बस्तीमा २५ घरधुरीका बालबालिका र अभिभावकसँगै बसेर कसरी बाल विवाह अन्त्य गर्न सकिन्छ भन्नेबारे संवाद गरिएको थियो ।

संवादमा कलिलै उमेरमा बिहे गरेकाहरुले भोगेको अनुभव सुनाए । संवादमा उपस्थित भएका बालबालिका तथा अभिभावकलाई बालविवाह कानुनी रूपमा दण्डनीय हुने र शारीरिक, मानसिक रूपमा दुर्बल हुने सुझाईएको छ ।

प्रतिक्रिया