कठै यो मेरो राष्ट्रवाद

        तर्कबहादुर शाही   |   प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८     ::: 80 पटक पढिएको   |  


म भन्थें ,
राष्ट्र र राष्ट्रियताको लागि लडेको
वीर नेपालीको सन्तान हुँ म
उहिले मेरा पुर्खाले खाँडो जगाएको
सुनेर दङ्ग पर्ने म
बैरिले दगा गरेर मारे पनि
दोसल्लामा बेरेर पठाएको म
जाई कटक हैन
झिकि कटक गर्ने म
मेरो राष्ट्रवाद कता हराएछ ।
म सुन्थें,
उत्तरी छिमेकले कति धार्नी सुन
नजराना पठाउने गथ्र्यो
र बर्सेनि त्यसैमा रमाउने म
दक्खिनमा संकट परे
गुहार माग्न आउँथ्यो
र नयाँ मुलुकै
उपहार ल्याउने म
अर्काको राष्ट्रियता बचाउने म
मेरो राष्ट्रवाद कता हराएछ ।
म भन्दै छु ,
मैले लिपुलेक छोडेको
झण्डै छ दशक हुन थाले छ
आफ्ना लागि हैन वैरिका लागि
खाँडो पखाल्ने गरेको म
खाडीको गर्मीले मारे पनि
दोसल्लामा बेरेर हैन
बेवारिसे काठको तुच्छ
बाकसमा आउने म
मेरो राष्ट्रवाद कता हराएछ ।
म सुन्दै छु,
बिपत्तिमा परेका मेरा शाखा सन्तान
सिमानामा अलपत्र छन अरे
कोरोनाले तर्साउन न सकेका
मेरा भाइबहिनीहरु बेरोजगारीले
छट्पटाउँदै छन रे
तरपनी म राष्ट्र र राष्ट्रियता को
नाममा अझै केही बर्ष
बाँच्ने कोसिस गर्दै छु
मेरो राष्ट्रवाद कता हराएछ ।



Leave a comment

Your email address will not be published.


*