विशेष सम्पादकीय : तिहारको शुभकामना !

विशेष सम्पादकीय : तिहारको शुभकामना !

उज्यालो/झिलिमिली चार्ड तिहार । नेपालीहरुको घर–घरमा भित्रिसकेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य भईनसकेपनि झिलिमिलीको यो पर्व हर्षोल्लासपूर्वक मनाउने देखिन्छ । बजारमा तिहार लक्षित किनमेल बढेको छ । नेपालीहरूले मनाउने विभिन्न चाडपर्वमध्ये तिहारको आफ्नै महत्व छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलन मात्र नभई सामाजिक रूपमा सद्भाव अभिवृद्धिको चार्ड हो । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो ।

काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस तिहार पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चार्डले विशेष भूमिका निभाएको हुन्छ ।

तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई शुभ र अशुभ दुवै किसिमका सन्देश ल्याउने पक्षीका रूपमा लिइन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई घरको रक्षक, आज्ञाकारी र सेवकका रूपमा लिइन्छ । तिहारको तेस्रो दिन गाई तिहार मानिन्छ । यो दिन गाईको पूजा गर्नुका साथै यही दिन धनधान्यकी देवी लक्ष्मीको पनि पूजाअर्चना गरिन्छ । प्राचीन तथा वैदिक कालदेखि गाईलाई गौमाता भन्दै आमाका रूपमा लिइँदै आएको हो । त्यसैले यो दिन बिहान गाई पूजा र साँझ धनकी प्रतीक लक्ष्मीको पूजा गर्ने गरिएको हो । पूजाअर्चना मात्र होइन, यो दिनमा वर्षकै सबैभन्दा बढी उज्यालो र झिलिमिली पनि पारिन्छ ।

तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ जसलाई गोरु तिहार पनि भनिन्छ । तिहारको पाँचौं अथवा अन्तिम दिनमा भाइटीका मनाइन्छ जुन दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्छन् । पौराणिक मान्यताअनुसार यस दिन यमुनाले दाजु यमराजको पूजा गरेकी थिइन् । त्यही सम्झनामा यो दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने र टीका तथा माला लगाइदिने चलन चलेको हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली माला लगाइदिने र मिष्ठान्न भोजन तथा खानेकुरा खान दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, वस्त्र, गहनालगायत सामग्री दिने परम्परा तथा प्रचलन रहँदै आएको छ ।

भाइ पूजामा प्रयोग गरिने सप्तरंगी टीका, मखमली माला लगायतका सामग्री दीर्घायु र सुस्वास्थ्यका प्रतीक मानिन्छन् । भाइटीकाका क्रममा प्रयोग गरिने ओखर, तिल, तेलको घेराले भने दीर्घ जीवनको प्रतिनिधित्व गर्छन् जसका कारण यी सामग्रीलाई दीर्घायु र स्थायित्वका प्रतीकका रूपमा लिने गरिन्छ । तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइको पूजा हुने र दिदीबहिनीलाई पनि टीका लगाई दक्षिणा, वस्त्र र गहना दिने प्रचलन रहेकाले यो पर्वलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिने गरिन्छ । एक हिसाबले भन्ने हो भने यो पर्व र दिनलाई दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध र मेलमिलाप अझ बलियो हुने रूपमा लिने गरिन्छ । यसका साथै यही दिनदेखि नेपाल संवत्अनुसार नयाँ वर्षको प्रारम्भ पनि हुन्छ ।

समग्रमा तिहार पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । त्यसैले यो तिहारले समाजमा अझै बढी सद्भाव र सहिष्णुताको विकास गरोस् । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दछौ । अन्त्यमा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै तिहार पर्व मनाऔँ ।                      सम्पादक                                                                  ज्वाला सन्देश अनलाईन (ज्वाला सन्देश प्रा.ली.)

प्रतिक्रिया