मुगु आगलागीको स्थलगत अनुगमनमा जाँदै कर्णालीका मुख्यमन्त्री शाही

मुगु आगलागीको स्थलगत अनुगमनमा जाँदै कर्णालीका मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि मुगु जान लागेका छन्। मुगुमा भएका आगलागीको अनुगमन गर्न मुख्यमन्त्री शाही मंगलबार जान लागेका हुन्।मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार राहत सामग्रीसहित मुख्यमन्त्री हेलिकप्टरमा मुगु जाने भएका हुन्।

सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट खाद्यान्न, लत्ताकपडा, भाँडा, टेन्टलगायतका तत्कालीन राहत सामग्री लिएर आउनेछ। त्यसैमा मुख्यमन्त्री मुगु जानेछन्। आज बिहान बसेको प्रदेश संकट व्यवस्थापन समितिको वैठकले मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीमा भएको आगलागी पीडितको लागि राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो।

मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको एकीन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज घोषणा गरिनेछ। त्यसका लागि आजै साँझ प्रदेश संकट व्यवस्थापन समितिको अर्को वैठक बस्ने मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सोमबार राती साढे १२ बजे भएको आगलागीबाट गमगढीमा २१ वटा घर जलेर नष्ट भएका छन् । राती सल्किएको आगो बिहान साढे ४ बजे मात्र नियन्त्रणमा आएको थियो ।  स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको थियो।

आगलागीबाट घरबारबिहीन भएकालाई तत्कालका लागि छिमेकीका घर र आफन्तकोमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया