कर्णालीमा थपिए एक मन्त्री

कर्णालीमा थपिए एक मन्त्री

कानुन मन्त्रीमा सिफारिस भएका शाहीले कृषि मन्त्रालय रोजेपछि …

सुर्खेत : मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद्‌मा एक जना सदस्य थपेका छन् । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। मुगुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने शाही मंगलबार कृषि मन्त्रीमा नियुक्त भएका हुन्।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सहईञ्चार्ज शाहीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले कृषिमन्त्रीमा नियुक्त गरेका हुन्। मन्त्रीलाई शाहीले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  उनी समाजवादीको कर्णाली प्रदेश संसदीय दलका नेता पनि हुन्। तीन सदस्यीय समाजवादीको कर्णाली प्रदेश सभा दलले कर्णाली प्रदेश सरकारमा तीन वटा मन्त्रालयको दाबी गरेको छ।

कृषि मन्त्रीमा नियुक्त शाहीलाई यसअघि मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सिफारिस गरेका थिए । मंगलबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेपछि समाजवादीका शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सिफारिस गरिएको थियो ।

कानुन मन्त्रीको सपथ खुवाउन प्रदेश प्रमुखको कार्यालयले तयारी गरिरहेका बेला शाही कृषि मन्त्री बन्ने तय भएको हो। साढे ५ बजे तोकिएको सपथग्रहण कार्यक्रम मन्त्रालय फेरिएपछि एक घण्टा ढिलो गरी भएको थियो। मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार शाही आफैंले सिफारिस भएको मन्त्रालय छोडेर कृषि रोजेका हुन्।

‘सपथ पनि त्यही तयारी भएको थियो, एक्कासि उहाँले नै कृषि मन्त्रालय रोजेपछि पत्र फेरेर अर्को मन्त्रालयको सपथ गराइएको हो,’ निजी सचिवालयका एक कर्मचारीले भने। कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका जीवन शाहीले १३ दिनपछि एक जना सदस्य मन्त्रिपरिषदमा नियुक्त गरेका हुन्। आठ सदस्यीय कर्णाली प्रदेशको मन्त्रिपरिषदमा अझै ६ जना मन्त्री नियुक्त हुन बाँकी छ।

प्रतिक्रिया