जसले गरे समलिङ्गी विवाह !

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः आइतवार, मंसिर २६, २०७८     ::: 1237 पटक पढिएको   |  

औपचारिक रुपमा विवाह बन्धनमा बाँधिएका समलिङ्गी महिला नर्मा गुरुङ्ग (आशिष) र मनकुमारी बुढा ।  तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : जिल्ला सदरमुकाम स्थित गणेश चोक मन्दिर । नारायण नगरपालिका–१ मा पर्ने उक्त मन्दिर क्षेत्रमा रहेको शिव मन्दिर । त्यहाँ शनिवार विहानै देखि भीडभाड बढ्दै थियो । कारण, सोहि शिव मन्दिरमा एक जोडीको विवाह हुँदै थियो । दुलाहा र दुलही दुवै पक्षका परिवार, आफन्तजन र साथीभाई विवाहको तयारी गरिरहेका थिए भने पुरोहित विवाह मण्डपमा विहेको सुरसार कसिरहेका थिए । जब दुलाह र दुलही मण्डपमा पुगे तब विहे प्रारम्भ भयो । झण्डै तीन घण्टापछि विहे सकियोे ।

विवाह चलिरहँदा मन्दिर वरपर रहेका केहि व्यक्तिहरु एक आपसमा कानेखुसी गरिरहेको दृष्य छर्लङ्ग देख्न सकिन्थ्यो । कारण, विवाह मण्डपमा बसेका दुलाहा र दुलही दुवै जना महिला अर्थात समलिङ्गी थिए । दैलेखको गुराँस गाउँपालिका–४ रतिखोलाका नर्मा गुरुङ्ग (आशिष) र नौमूले गाउँपालिका–३ द्धारीकी मनकुमारी बुढाले समलिङ्गी विवाह गरेका हुन् । विवाह मण्डपमा नर्मा दुलाहाको भेषमा सजिएका थिए भने मनकुमारी दुलही !

नर्माले मनकुमारीलाई चारबर्ष अघि भगाएर घरमा भित्¥याएका थिए । त्यसयता नर्मा वैदेशिक रोजगारीका लागि ओमन पुगेका कारण औपचारिक रुपमा विवाह हुन सकेको थिए । गत असोजमा छोरा वैदेशिक रोजगारीबाट फर्किएपछि विहेको साइत जुरेको नर्माकी आमा सुक्मा घले गुरुङ्गले बताइन् । सुक्माले नर्मालाई छोरा भनेर सम्बोधन गर्छिन् । नर्मा र मनकुमारीले परिवार, आफन्त र साथीभाईको उपस्थितीमा हिन्दु धार्मिक परम्परा अनुसार औपचारिक रुपमा विवाह गरेका हुन् ।

सानैदेखि केटाको स्वभाव !

नर्मा २०४३ जेठ २१ गते जन्मिएका हुन् भने मनकुमारी २०४८ चैत्र १२ गते जन्मिएका हुन् । घरको पाँचौ सन्तानको रुपमा जन्मिएका नर्मामा सानैदेखि केटाको स्वभाव थियो । उनका पाँच दाजुभाई र चार दिदिबहिनी छन् । आइए उर्तिण गरेका नर्मा सानैदेखि आफ्नो बुबालगाएत घरका पुरुषहरुको कपडा लगाउँथिन् । नर्माका दिदि लक्ष्मी गुरुङ्ग भन्छिन् ‘नर्माले सानैदेखि केटा मान्छेको कपडा लगाउने, हलो जोत्ने जस्ता काम गर्थिन्, २०७२ भदौ २ गते बुबा उदय घले गुरुङ्गको निधन हुँदा उसले अन्य चार दाजुभाईसँगै धार्मिक संस्कार अनुसार काज किरिया गरेको थियो ।’

जन्मदा छोरी भएर जन्मिएकी नर्माको स्वभाव छोराको जस्तै हुँदा आफुहरुलाई सामान्य लागेको लक्ष्मीले बताइन् । ‘उसको खुसी नै हाम्रो खुुसी हो, नर्मा र मनकुमारीले गरेको विवाहबाट हामी खुसी छौ ।’ नर्माकी आमा सुक्मा घले गुरुङ्गले मनकुमारीलाई बुहारीको रुपमा स्वीकारिसकेको बताइन् । नर्माले वैदेशिक रोजगारीमा झण्डै ६ बर्ष बिताईसकेका छन् । वैदेशिक रोजगारीमा कमाएको पैसाबाट बाँकेको कोहलपुरस्थित घडेरी जोडेका छन् । यता मनकुमारीले दैलेख सदरमुकाममा कपडा पसलसँगै टेलर्स सञ्चालन गरिरहेकी छिन् ।
विवाहपछि दुवै जनाले खुसी भएको प्रतिक्रिया दिए । ‘फुपुको छोरीको जन्मदिन मनाउँदा हामी दुवै जनाको पहिलो पटक भेट भएको थियो,’ नर्माले भनिन् ‘भेटपछि विस्तारै माया बस्यो, हामी दुवै जना संगै जीवन बिताउन सक्छौ भन्ने लागेर विवाह गर्ने निर्णय लिएका थियौ ।’ उनिहरुले आफुहरुको विवाहलाई कानूनी मान्यता दिन आग्रह गरेका छन् ।

समलिङ्गी विवाह नेपालको सन्दर्भमा पहिलो नभएपनि दैलेखको सन्दर्भमा पहिलो हुनसक्ने लैङ्गिकता तथा समावेशीकरण (एलजीविटिआई) परियोजना संयोजक सजना सुनारले बताइन् । जिल्लाको गुराँस गाउँपालिकामा गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा उक्त परियोजना सञ्चालित छ । ‘कानूनले महिला र पुरुषबीचको विवाहलाई मान्यता दिएको छ, तर समलिङ्गी विवाहले कानूनी मान्यता त छैन् तर व्यक्तिले व्यक्तिसँग विवाह गर्न पाउनुपर्छ, त्यो उसको स्वतन्त्रताको कुरा हो,’ सुनारले भनिन् ।

‘गुराँस गाउँपालिकामा उहाँहरु दुई जना समलिङ्गी महिलासहित ६ जना अन्तरलिङ्गी गरी ८ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु हुनुहुन्छ,’ उनले भनिन् ‘सामाजिक रुपमा त उहाँहरु विवाह बन्धनमा बाँधिनुभएको छ, अब कानूनी मान्यता दिलाउन पैरवी गर्ने सन्दर्भमा संस्थाले सहयोग गर्नेछ ।’



Leave a comment

Your email address will not be published.


*