तयार भए २९ जना खानेपानी तथा सरसफाई मिस्त्री

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीस्थित देउलीमा सञ्चालित खानेपानी तथा सरसफाई मिस्त्री तालिम सकिएको छ । एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा तालिम सञ्चालन भएको थियो ।
तालिमबाट २९ जना खानेपानी तथा सरसफाई सम्बन्धी कार्यहरु गर्ने मिस्त्री तयार भएका छन् । तालिममा पाँच जिल्ला दैलेख, अछाम, कालिकोट, जाजरकोट र सुर्खेतका गरी १४ स्थानीय तहबाट २९ जना सहभागि थिए । तालिमको प्रशिक्षकको रुपमा विज्ञान नेपाली, रामकुमार श्रेष्ठ र देव कुमार विसी थिए ।
गत मंसिर २२ गतेदेखि सुरु भएको तालिम बुधवार सकिएको हो । डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, उपाध्यक्ष सिता ज्ञवाली, डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजुकुमार खत्री, वडा नं. १ का वडाध्यक्ष लोकबहादुर डांगी, हेल्भेटास नेपालका क्षमता विकास विशेषज्ञ निलकण्ठ पाण्डे, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगाएतको उपस्थितीमा तालिम समापन गरिएको हो ।
तालिम समापन कार्यक्रमका अबसरमा कुइँया देउली खानेपानी तथा सरसफाई योजना समितिले तालिम सञ्चालनका लागि धन्यवाद ज्ञापन गर्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र हेल्भेटास नेपाललाई सम्मानपत्र समेत प्रदान गरेको बताईएको छ ।
प्रतिक्रिया