दैलेखमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सचेत रहन स्वास्थ्य सेवा कार्यालयको आग्रह

दैलेखमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सचेत रहन स्वास्थ्य सेवा कार्यालयको आग्रह

दैलेख : नेपालमा कोरोना संक्रमितको संख्या तीव्ररुपमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार एकैदिन थप १४४६ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार ११६७ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

नेपालका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बृद्धि भईरहँदा दैलेखमा पनि फेरि कोरोना संक्रमण देखिन थालेको छ । लामो समय कोरोना संक्रमणको दर शुन्यमा रहेको दैलेखमा सोमवार २ जनाको संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।

उनका अनुसार भारतबाट फर्किएका दैलेखका ४ जनालाई नेपालगंजमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको खबर आएको उनले बताए । फेरी कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालयले सचेत रहन आग्रह गरेको छ ।

नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेपछि गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ । यता शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

यो पनि पढ्नुहोस्

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

मेला, महोत्सव नलगाउन गृह मन्त्रालयको निर्देशन, २५ जनाभन्दा धेरै भेला हुन नपाइने

प्रतिक्रिया