चुनावअघि खुट्टा ढोग्ने नेता, चुनावपछि हीरा बनेर बिलाउँछन्

चुनावअघि खुट्टा ढोग्ने नेता, चुनावपछि हीरा बनेर बिलाउँछन्

वीरेन्द्रनगर -११ बालुवाटारका ६५ वर्षिय रङ्गवीर गन्धर्व सारङ्गी रेट्दै । तस्बीर : जितेन्द्र थापा

सुर्खेत : वीरेन्द्रनगर देखि २० मिनेटको यात्रा । ओरालो जंगलको बाटो छिचोलेपछि सुरिलो धुन बज्यो । ६५ वर्षिय रङ्गवीर गन्धर्वले मनै रेट्ने सारङ्गीको धुन मार्फत बेदनाको पोको खोल्दै थिए ।

सम्पतीको नाउँमा यहि एउटा सारङ्गी बाजा,
गुजरा हाम्रो चल्दै थियो घर आँगन डुलेर

राज्यले दिन्छकी भनी लागिराछ आशा
सरकारको बाटो कुर्दाकुर्दै भइगयौ लाश

आन्दोलनमा लड्दा लड्दै मरिसक्यो आश
अन्धकारको भूँमरीमा अल्झियो हाम्रो जीवन
कतै आशु कतै पीर रेटियो आज जीवन……….।

यीनै शव्दहरुले भरिएको गीतबाट गन्धर्वले बालुवाटरको पीडा सारङ्गी मार्फत रेटिरहेका थिए । दुःख पीडाहरु आँशु मार्फत पोखिरहेका थिए । सुर्खेतको वीरेन्द्रनगर–११ बालुवाटार । वीरेन्द्रनगरदेखि २० मिनेटमा पुग्न सकिन्छ । यो बालुवाटार प्रधानमन्त्री बस्ने बालुवाटार होइन । बालुवाटार त्यो हो जो अनकन्टार ठाउँ । स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युतको पहुँचबाट टाढा । समस्या नै समस्या र अभावै अभावमा रुमल्लिएको एउटा भूमिहिन दलित समुदाय बस्ने ठाउँ हो ।

कर्णाली प्रदेशको दैलो छेउमै अस्थित छ । तर, पीडा र अभावमा बाँचिरहेका छन् यहाँका नागरिक । राज्यको नजरमा दुरीका रुपमा नजिक भएता पनि राज्यको नजरमा अपरिचित छ । राज्यको बागडोर सम्हाल्न पुग्नेले यहाँका नागरिकका समस्या त्यतिबेलामात्र देख्छन् र सुन्छन्, जतिबेला चुनाव आउँछ ।

जब चुनाव आउँछ तब मतदाता आकर्षीत गर्न स्वर्ग बनाउने आश्वासन ल्याउने कुरा गर्छन । चुनाव आउँदा आफुहरु हिरा भन्दापनि अमुल्य हुने गरेको रङ्गवीर बताउँन् । ‘चुनाव नजिक आउँदा तपाईहरुलाई लालपुर्जा, सडक, विद्यालय यही पु¥याउछौँ भन्छन्,’ उनले भने, ‘तर चुनाव जीतेपछि अमुल्य हिरा धातु हुन्छन् । त्यसपछि बालुवाटारबासीका पीडा अहिले पनि ज्युँका त्युँ रहन्छन् ।’

पहिलेजस्तो लाटा छैनौँ

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यस्तो परिपाटिको अन्त्य गर्ने बालुवाटारबासी बताउँछन् । ‘फेरी पनि हामीलाई झुक्याउन विभिन्न दलका नेता कार्यकर्ता आएर विभिन्न आश्वासन दिए पनि आश्वासनमा पर्दैनौँ,’ रङ्गवीरले भने ।

झुठा आश्वासन ल्याएर गाउँमा नआउनु

दल र दलबाट चुनावी प्रतिस्पर्धामा रहेका नेताहरु मतदाता रिझाउने कसरतमा लागिरहेका बेला वीरेन्द्रनगरको एउटा भूमिहीन दलित समुदाय भने आफूहरूको उचित व्यवस्थापनमा बेवास्ता गरिएको भन्दै असन्तुष्ट छ । बालुवाटार बस्तीका स्थानीय राजनीतिक पार्टी र नेताहरूप्रति आक्रोशित छन् ।

यहाँका बासिन्दाले नेताहरूलाई झुठा आश्वासन ल्याएर गाउँमा नआउन सुझाव समेत दिएका छन । बालुवाटारमा अहिले २७ घरधुरी बसोबास गर्दै आएका छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको जमिन उनीहरूका नाममा छैन । भूमिहीन यो बस्तीको विगतदेखिकै मुख्य माग लालपुर्जा हो । तर, हरेक पटक लालपुर्जा दिलाउने नेताहरूका झुठा आश्वासनले उनीहरू आजित   छन् ।

चुनावताका फकाउन बस्तीमा पुग्ने नेताले जितेपछि फर्किएर आफूहरूका समस्या सुन्न नआएको गुनासो बालुवाटारबासीको    छ । बालुुवाटारमा बादी समुदाय बसोबास गर्न थालेको तीन दशकभन्दा बढी भयो । रोग, भोक, गरिबी र अनेक खालका अभावले जेलिएका यहाँका बासिन्दा सधैँ आश्वासन मात्रै पाउँछन् । दशकौंदेखि बस्दै आएको जमिन आफ्नो नाममा नहुँदा उनीहरू आधारभूत सेवा लिनबाट समेत वञ्चित छन ।

यसअघिको चुनावमा निर्वाचित वडाअध्यक्षले भोट माग्न जाँदा बालुुवाटारलाई सुविधा युक्त बनाइनेछ भनेको कुरा नन्नकली बैगारले अहिले पनि बिर्सिएकी छैनन् । ‘२०७४ को स्थानीय निर्वाचनमा मत माग्न जानेले मोटरबाटो, बस्ती नजिकै विद्यालय, बिजुली र स्वास्थ्यचौकी पु¥याउँछौ भनेका थिए, एक पटक फर्किएर हाम्रा पीडा सुन्न त आएनन्, के–को विकास गर्थे,’ उनले भनिन् ।

लालपुर्जा पाउने आश मरिसक्यो

स्थानीय तहको निर्वाचनका बेला जतिसुकै विकासको चर्का नारा लगाए पनि नन्नकली बैगारलाई लालपुर्जा पाउँला र आफ्नो जमिनमा बस्न पाउँला भन्ने आशा मरिसकेको छ । विगतमा धेरै नेताले बसेको जमिन तिम्रै नाममा हुन्छ भने पनि कसैले आफूहरूलाई लालपुर्जाका लागि पहल नगरेको नन्नकली वैगारको गुनासो छ । ‘लालपुर्जा आउँछ–आउँछ भन्दाभन्दै कयौं वर्ष बिते,’ उनी भन्छिन, ‘अब त आश पनि मरिसक्यो ।’

बालुवाटार बस्ती खोला किनारमा छ । ऐलानी यस बस्तीमा जीविकोपार्जनका लागि निकै संघर्ष गर्नुपर्छ । आफ्नो नाममा नभएकाले जग्गा धितो राखेर बैंकिङ वा अन्य कुनै काम गर्न पाइँदैन । सुरुमा आठ÷दश घरधुरी रहेको बस्तीमा पछिल्ला वर्षमा घरहरू थपिएका छन् ।

यहाँका नागरिकहरुको दैनिकी अभावै अभावमा बितिरहेको छ । खोलामा गिट्टि कुटेर खाने यो समुदायको खोला पनि डोजरले खोसिदिएको नन्नकलीको भनाई छ । ‘पहिले खोलामा खोला खोस्रेर बालुवा गिट्टी निकालेर गुजारा चलेको थियो त्यो पनि ठुलठुला डोजर खोसे,’ उनले भनिन् ।

‘दुइ हातले बस्तितिरका टहरा देखाउदै नन्नकलीले हामीलाई अभावै अभाव छ, हाम्रा समस्या ज्यूँका त्यूँ छन्, स्थानीय तहको निर्वाचनमा कसैलाई जीताएर महलमा पु¥याउन मन छैन,’ नन्नकलीले भनिन् ।

पहिला माग पुरा हुनुपर्छ, अनी बल्ल भोट

भुमिहिन बालुवाटार बस्तिका नागरिक जीविकोपार्जनका लागि रोजगारी नपाएर छट्पटाएको छ । दैनिक खोलामा गिट्टि बालुवा निकालेर जीविकोपार्जन गर्ने गर्थे । अहिले त्यो पनि टिप्पर र ट्याक्टरले खोसेका छन् । समुदाय नजिक विद्यालय नहुँदा बालबालिका औपचारिक शिक्षा पाउनबाट समेत बञ्चित छन् । स्वास्थ्य उपचारको समस्या त्यस्तै छ ।

स्थानीय सरकारबाट निराशा बाहेक केही नपाइएको सोही ठाउँकी कृष्णा योगी बताउँछिन । ‘मजदुुरी गरेर परिवारको गुजरा चलाउन पनि काम पाईदैन्,’ उनले भनिन्, ‘बिहान–साँझ छाक टार्न गिट्टी बालुवाको काम गथ्र्यौं, त्यो पनि ठूला–ठूला मेसिन आएपछि परिवार र आफु पालिन हम्मे हम्मे भएको छ ।’

प्रतिक्रिया