चुनावी मैदानमा सुत्केरी उम्मेदवार

चुनावी मैदानमा सुत्केरी उम्मेदवार

कोही दुधे बालक पिठ्युँमा बोकेर त कोही घरमै छोडेर चुनावी मैदानमा

 दैलेख/सुर्खेत : चामुण्डाविन्द्रासैनी नगरपालिका–९ की मनसरा रेग्मी हिजोआज चुनावी चटारोमा छिन् । उनि अरु कुनै उम्मेदवारको प्रचारप्रसारमा हिडिरहेकी छैनन् । आफ्नै लागि भोट मागिरहेकी छन् । रेग्मी नेपाली काँग्रेसबाट नगर उपप्रमुखको उम्मेदवार हुन् । उनि ४७ दिनको सुत्केरी महिला हुन् । उनले कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा गत चैत्र ८ गते शल्यक्रिया मार्फत छोरालाई जन्म दिएकी थिइन् । १२ वैशाखमा मनोनयन दर्ता गर्न जाँदा उनी ३४ दिनकी सुत्केरी थिइन् ।

उमेरले २६ बर्षीया रेग्मी नवजात शिशूलाई घरमै छोडेर चुनाव प्रचारप्रसारमा सक्रिय छिन् । भौगोलिक रुपमा विकट रहेको चामुण्डाविन्द्रासैनी नगरमा रेग्मीलाई नेपाली काँग्रेसले उपप्रमुखको उम्मेदवार बनाएको हो । ‘शल्यक्रिया गरेर बच्चा जन्मियो, अहिले चुनावी अभियानमा छु,’ उनले भनिन् ‘भौगोलिक रुपमा नगर अत्यन्तै विकट छ, सबै ठाउँमा सडक पुगेको छैन्, शारिरिक रुपमा असक्त भएपनि पार्टीले दिएको जिम्मेवारीलाई पुरा गर्न खटिएको छु ।’ उनले आफुजस्ता युवाहरुले स्थानीय सरकारको नेतृत्वमा आउनुपर्ने बताउँदै भन्छिन् ‘नगरको विकास र समृृद्धिका लागि मैले थुप्रै योजनाहरु अघि सारेको छु ।’ बच्चाको हेरचाहा गर्ने जिम्मा आफन्तलाई लगाएर नगरका गाउँ र टोलका मतदाताको घरदैलो पुगिरहेको उनको भनाई छ ।

उनि दैलेख निर्वाचन क्षेत्र नं. २ बाट काँग्रेसको महाधिवेशन प्रतिनीधि हुन् । २०५२ फागुन ७ गते जन्मिएकी मनसराले विद्यार्थीकालदेखिनै नेपाल विद्यार्थी संघमा आबद्ध भई नेपाली काँग्रेसको राजनीति सुरु गरेकी थिइन् । ‘मेरो बुबा २०३६ सालदेखि नै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लाग्नु भयो, उहाँकै राजनीतिक संस्कारमा हुर्किएका कारण काँग्रेसकै राजनीतिमा संलग्न भए,’ उनि भन्छिन् ।

नेपाली विषयमा स्नातकोत्तर अध्ययनरत मनसराले राजनीतिक यात्रामा परिवारको पूर्ण सहयोग रहेको बताउँछिन् । बुबाकै प्रेरणाले २०६४ देखि राजनीतिमा होमिएको बताउँदै आएकी रेग्मीले उपमेयरमा विजयी भए नगरको विकास र महिला, बालबालिकाको अधिकारका सवालमा डटेर काम गर्ने बताइन् ।

मनसरा जस्तै ठाटीकाँध गाउँपालिका–१ सिराडीकी बसन्ती विक पनि दुधे बालक पिठयुँमा बोकेर चुनावी मैदानमा छिन् । दुधे बालक पिठयुँमा बोकेर घरदैलो अभियानमा हिड्दै गर्दा उनलाई २०५२ मा सुरु भएको जनयुद्धताका पिठ्युमा बच्चा बोकेर जनयुद्धमा होमिएको झल्को दिलाउँछ । ‘जनयुद्ध लेडेरै नयाँ राज्यसत्ताको स्थापना गरियो, अब बच्चा बोकेरै वडा सदस्यमा निर्वाचित भएर वडाको विकास गर्ने मेरो लक्ष्य हो,’ उनले भनिन् । उनी नेकपा (माओवादी केन्द्र) बाट दलित महिला सदस्यको उम्मेदवार हुन् ।

कृषि, पर्यटन, शिक्षा र उद्यमशिलता विकास, सुन्दर र विकसित वडा निर्माणको निकास भन्ने नारा लिएर उनले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेकी छिन् । चुुनावी प्रचार प्रसारका लागि घरदैलो कार्यक्रममा नजिक जाँदा बच्चालाई आफन्तको जिम्मामा छाडेर जाने गरेको उनले बताइन् । ‘घरदैलो कार्यक्रममा टाढा जाँदा र धेरै समय लाग्ने स्थानमा बोकेरै हिँड्ने गर्छु,’ उनले भनिन्, ‘वडा परिर्वतन गर्नुछ त्यसका लागि भए पनि दुधे बालक पिठयुँमै बोके घरदैलो अभियानमा छु ।’

वडा सदस्य जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्न र महिलाको समस्यालाई प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ । उमेरले ३२ वर्ष पुगेकी बसन्तीसँग वडा परिर्वतन गर्न सक्छु भन्ने आँट छ । ‘म अहिले आठ महिने शिशुसँगै चुनावी मैदानमा छु,’ उनले भनिन्,‘घरमा बच्चा हेर्ने कोही नभएर घरदैलोमा सानो छोरालाईसँगै लिएर हिडेकी छु, शिशुसँगै किन वडा सदस्यमा उठेको नभनिदिनुस् ।’

प्रतिक्रिया