बादी समुदायबाट पहिलो मेयर, जसले हाँक्दैछन् चौरजहारी

बादी समुदायबाट पहिलो मेयर, जसले हाँक्दैछन् चौरजहारी


दैलेख : पुष्प बादी २०५२ मा दलित समुदायको साझा संगठन नेपाल उत्पिडीत दलित जातिय मुक्ति संगठनमा आबद्ध भई राजनीति यात्रा प्रारम्भ गरे । दलित आन्दोलनमा सक्रिय रहँदा उनि २०५६ मा नेकपा माओवादी आन्दोलनमा होमिए । विस्तृत शान्ति सम्झौतापछि उनले नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहे । उनले विशेष गरी दलित अधिकारको लडाईँमा अगुवाई गरे । अहिले उनि नेकपा माओपादीको वैकल्पिक केन्द्रीय सदस्य छन् । नेपाल दलित मोर्चाको केन्द्रीय कार्यालयमा उनको सहभागिता छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–४ मनकोटमा २०३१ असोज १ गते बुबा असारे नेपाली र आमा पार्वती नेपाली नेपालको कोखबाट जन्मिएका पुष्पले जीवनमा थुपै्रै समस्याहरु झेले । आर्थिक रुपमा विपन्न परिवारका पुष्पका लागि राजनीतिक यात्रा कष्टपूर्ण नै रह्यो । झण्डै २७ वर्षे राजनीतिकपछि उनका लागि सुखद् परिणाम आएको छ । उनै पुष्प अहिले चौरजहारी नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनि नेकपा माओवादी केन्द्रबाट मेयरमा विजयी भएको हुन् । उनको जीत नेपालमा पहिलो पटक बादी समुदायबाट मेयरमा निर्वाचित हुने पहिलो व्यक्तिको रुपमा स्थापित हुन पुगेको छ । बादी समुदायबाट मेयरको नेतृत्व गर्ने पुष्प पहिलो मेयर हुन् जसले नगरपालिका हाक्दैछन् ।

नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनलाई तोड्दै माओवादीबाट पुष्प मेयरमा जित हासिल गरेका हुन् । प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । उपप्रमुखमा निर्वाचित शर्माले ७ हजार २ मत पाएर विजयी भएकी हुन् । गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका नेकपा एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाए । नगरपालिकाका १४ वटा वडाहरुमध्ये ११ वटा माओवादी र दुई वटा काँग्रेसले जितेको छ ।

मेयरमा निर्वाचित पुष्पले निर्वाचन जित्नुमा पार्टीपंतीको ठूलो सहयोग रहेको बताए । ‘उम्मेदवारी मनोनयन गर्न जाँदा मसंग जम्मा दुई हजार रुपैयाँ थियो, निर्वाचनभरी आर्थिक परिचालनमा धेरै समस्या भयो,’ उनले भने ‘पार्टीपंतीको सहयोगमा मेरो जित सम्भव भयो ।’ आर्थिक रुपमा विपन्न हुँदा हुँदैपनि पार्टीको सहयोग र जनताको साथ आफुलाई रहेको उनको भनाई छ । विपक्षी दलहरूले कामी, दमाई, सार्की र बादी सुमदायलाई किन नमस्कार गर्ने, बादीलाई जिताउनु हुन्न भन्दै प्रचार गरेको उनीसँग तीतो अनुभव छ । दलित समुदाय भित्र कार्यगत एकता कम रहेको उनको बुझाई छ ।

मेयरमा निर्वाचित पुष्पले दलित समुदायका नागरिकहरुको आर्थिक स्तर उकास्ने गरी काम गर्ने बताउँछन् । उनले गुणस्तरिय र सर्वसुलभ शिक्षाका लागि जनशक्ति व्यवस्थापन, ग्रामिण विद्युतीकरण, कृषि र उत्पादन तथा बजारीकरणमा जोड दिने उनको योजना छ । यस्तै स्थानीय स्रोत र साधनमा आधारित उद्यम विकास जस्ता कार्यक्रमहरु अघि सार्ने मेयर पुष्पले बताए ।

प्रतिक्रिया