राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

सामाजिक सुरक्षाा भत्ता वितरण गर्दै गुराँस गाउँपालिका वडा न‌ ८ अध्यक्ष दिपेन्द्र वली ज्यु

दैलेख – गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्तै आएका राउटेहरुलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुराँस गाउँपालिका – ८ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीको टोलीले आज उक्त सुरक्षा भत्ता वितरण गरेको हो ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरे यता संघीय सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका – ८ का वडासचिव सुस्मिता खड्काले बताइन् ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरै जति दैलेखमा बस्ने गरेकोले संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

संघीय सरकारले गुराँस गाउँपालिका- ८ नं. वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता पठाउने गरेकोले राउटे समुदाय बस्ती जहाँ पुग्छन् गुराँस गाउँपालिका -८ नं. वडा कार्यालयले त्यही पुगेर सुरक्षा भत्ता वितरण गर्न थालेको छ । राउटेहरु जहाँ पुग्छन् त्यही गएर सुरक्षा भत्ता वितरण गर्ने सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयलाई जिम्मेवारी दिएकोमा सहज भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हिरासिंह थापाले बताए ।

राउटे समुदायलाई स्वास्थ्य सरसफाई र सामाजिक अन्तरघुलनका अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे परियोजना सञ्चालन गरेको छ । दुई जना स्वास्थ्यकर्मी र दुई जना सामाजिक परिचालक पनि राउटेको बस्ती सरेसंगै राउटेहरुको आनीवानी सुधारमा सहयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया