मुगुमा विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द

मुगुमा विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द

मुगु : मुगुमा विद्यार्थीहरु यार्सागुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएका छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि यस क्षेत्रका डेढ दर्जन विद्यालय बन्द भएका हुन् ।

गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगा, लगायत विद्यालयमा अध्यायरत कक्षा ५ देखि १० सम्म छात्रछात्रा सातु-सामल खाजा बोकेर यार्सा संकलन गर्न पाटनतिर उक्लिएपछि पठनपाठन प्रभावित बनेको छ ।

विद्यार्थीहरु यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध माध्यमिक विद्यालय, प्रभात माध्यमिक रोवासहित अन्य २६ वटा सामुदायिक विद्यालयहरुको पढाइ प्रभावित बनेको हो ।

केही स्कुलमा भने केही दिनयता कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू मात्र आउने गरेका छन् । कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी यार्सा टिप्न पाटन गएपछि पठनपाठन प्रभावित भएको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीका प्रसाद उपाध्यायले बताए ।भर्ना अभियान सकेर पढाइ सुरु हुनासाथ विद्यार्थी स्कुल छोडेर यार्सा संकलन गर्न पाटन हिँडेको प्रधानाध्यापक उपाध्यायले बताए ।

जेठ १५ देखि पाटन उक्लिएका विद्यार्थीहरू असार अन्त्यपछि मात्रै घर फर्किने र त्यसपछि मात्र पढाइ पुनः सुरु हुने अपेक्षा गरिएको छ । शिक्षकहरूका अनुसार हरेक वर्ष यार्सा टिप्ने मौसममा अधिकांश विद्यार्थीहरू पढाइ छोडेरै यार्सा टिप्न पाटन जाने गर्छन् ।

मुगुम कार्मारोङ गाउँपालिकाको रिमार, टाँके, कोइकी, ह्यामार लगायत स्थानमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा यहाँका विद्यार्थीको मात्रै नभएर उनीहरूका अभिभावकको पनि प्रमुख आयस्रोत बनेको छ ।

प्रतिक्रिया