सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा फर्किदै

सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा फर्किदै

दैलेख : ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा फर्किने भएको छ। २०२८ साल अघिसम्म यहाँको कोतगढीमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो ।

दैलेखमा रहेको नेपाली सेनाका गुल्मपति सेनानी विनोद चौलागाईँले यही असार ९ गते सुन्दरी तोपलाई गढीमा पुनःस्थापना गर्ने कार्यक्रम रहेको बताए । उनले गढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिने गरी हस्तान्तरण गर्न लागिएको बताए ।

गुल्मपति चौलागाईँले सुन्दरी तोप यहाँको ऐतिहासिक कोतगढीमा पुनःस्थापना गरेपछि दैलेखको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताए । २०२८ सालमा दैलेखको ऐतिहासिक कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो। सुन्दरी तोप ५० वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।

यहाँको नारायण नगरपालिकाको पहलमा पुस २० गते नेपाली सेनाको सहयोगमा दैलेख ल्याइएको तोप पुरानो स्थान कोतगढीमा राख्नुपर्ने भए पनि उतिवेला गढीको पुनःनिर्माणको काम सकिन बाँकी रहेकाले तोपलाई यहाँ रहेको नेपाली सेनाको कालीदत्त गुल्ममा राखिएको थियो ।

संघीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदा ल्याउनुपर्ने माग राखेपछि स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको पहलमा तोप दैलेख ल्याइएको हो ।

५० वर्षअघि दैलेखको कोतगढीमा रहेको सुन्दरी तोपको विशेष महत्त्व रहेको जानकार बताउँछन्। विजया दशमी टिकाको साइत तोप पट्काएर जनाइने र नागरिकले तोपको साइत अनुसार दशैँको टिका लगाउने गर्दछन् ।

दैलेखको ऐतिहासिक कोतगढी बहादुर शाहको नायबी कालमा वि.सं. १८४६ सालतिर बाइसे चौबिसे राज्य एकीकरण अभियान अन्तर्गत गोरखाली सेनाले युद्ध प्रतिरक्षाका लागि कोतगढी सैनिक किल्लाका रूपमा निर्माण गरेको बताइन्छ ।

प्रतिक्रिया