वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

सल्यान : सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको छ । डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका ३ को बजार क्षेत्रमा १० वर्ष देखि वन क्षेत्र अतिक्रमण गरी बनाएका नौ वटा घर टहराहरू हटाएको हो ।

काफलनेटी सामुदायिक वन क्षेत्र भित्रको ०.२९ हेक्टर क्षेत्रफलमा अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई सशस्त्र वन रक्षकको टोली परिचालन गरी हटाइएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागी सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर टहरा भत्काएको कार्यालयले जनाएको छ ।

गत जेठ ५ गते पत्राचार गरेको र २५ गते सूचना निकाले पनि बेवास्ता गरेपछि संरक्षणका लागि प्रहरी, प्रशासन र कपुरकोट गाउँपालिकाको सहकार्यमा सामुदायिक वनमा अतिक्रमण गरी बनाएको टहरा भत्काएको डिभिजन वन प्रमुख रमेशकुमार गिरीले बताए ।

राप्ती राजमार्गको छेउमा रहेको र हाल काफलनेटी सामुदायिक वनको स्वामित्वमा रहेको सामुदायिक वनको जग्गा मासिने खतरा बढेकाले सुरक्षाकर्मी तथा डोजर प्रयोग गरेर टहरा भत्काएको उनले बताए ।

वि.स २०७० साल अघि विद्यालयले उक्त जग्गा खारेर टहरो बनाई ३ वर्ष विद्यालय सञ्चालन गरेको थियो । विद्यालय नयाँ भवनमा सरेपछि केही आर्थिक सङ्कलन हुने नाममा मासिक १० हजार भाडामा विद्यालयले जागेश्वर गिरीलाई होटेल व्यवसाय गर्न अनुमति दिएको थियो । गिरीले होटेल सँगै बाँकी अन्य टहरा निर्माण गरी अरूलाई भाडामा लगाएका थिए ।

विद्यालयले भाडामा दिएपछि २०७० देखि होटेल व्यवसाय गर्दै आएको जागेश्वर गिरीले बताउँछन् । कालिका माध्यामिक विद्यालय कपुरकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर सेनले सामुदायिक वनको जग्गा संरक्षणका लागि स्थानीयले बैठक बसेर विद्यालयलाई जिम्मा दिएको र अरू कसैले अतिक्रमण गरी दुरुपयोग नगरोस भनी जागेश्वर गिरीलाई भाडामा दिएको बताए ।

जिल्लाका अन्य क्षेत्रमा पनि क्रमैसँग कानुन अनुसार वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरू हटाउँदै जाने समेत डिभिजन वन प्रमुख गिरीको भनाई छ ।

प्रतिक्रिया